मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

प्रकाशमानविरूद्ध खनिएका कान्छारामलाई बजेट नपरेको चिन्ता कि ठेक्का तोडिएको कुण्ठा ? कति छ रामेछापमा शहरीको बजेट ?

काठमाडौँ- आइतबार सांसद कान्छाराम तामाङले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेको भन्दै संसदमा आक्रोश पोखे । नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद तामाङले कांग्रेसको नेतृत्व गरेर सरकारका गएका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलविरूद्ध मनमा आए जति शब्द खर्चिए । २०८४ सालको चुनावमा उपप्रधानमन्त्रीद्वयको अनुहार संसद्‌मा देख्न नपरोस भन्दै बुद्ध र पशुपतिनाथसम्म गुहारे ।

संसद्‌मा निकै बोलेका तामाङले सामाजिक सञ्जालमा राम्रै प्रतिक्रिया पनि पाइराखेका छन् । तर सांसद तामाङको जिल्ला रामेछापमा भने ८४ करोड ४७  लाख बजेट विनियोजन भएको देखिन्छ । शहरी वकास मन्त्रालयका अनुसार ३ करोड वा माथि बजेट भएका कार्यक्रम संख्या ११ छ भने ३ करोड बजेट भएका कार्यक्रम संख्या ८ र ३ करोड बजेट भन्दा कम बजेट भएका कार्यक्रम संख्या  ५५ वटा छन् । 

कांग्रेसको १५ औं महाधिवेशनमा देखाइनेसमेत धम्कि संसद्‌बाटै दिएका तामाङ किन यसरी गर्जिए त भन्ने प्रश्नमा उपप्रधानमन्त्री सिंहको सचिवालयका एक सदस्यले भने 'सिंगो जिल्लामा राम्रै बजेट गएको छ, हुनसक्छ उहाँले भनेको कतिपय योजना परेन होला । उहाँलाई बजेट नपरेको भन्दा पनि रिस अर्कै छ ।'

निर्माण व्यवसायीसमेत रहेका सांसद तामाङको कम्पनीले शहरी विकास मन्त्रालय अन्तर्गतको ७० करोडको ठेक्का थियो । 'पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेक्का तोडियो । यसको रिस संसदमा पोखेको जस्तो लाग्छ' ति सचिवालय सदस्यले भने ।

त्यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत मोरङ जिल्लाको २ वटा सडक खण्डहरू, खोर्साने केराबारी सिंहदेवी सडक र लक्ष्मी मार्ग  डाँगी हाट बबिया बिर्ता अमाही सडक निर्माणको ठेक्का  २०८० असार मसान्तबाट म्याद थप हुन सकेको थिएन । पटक पटकको ताकेता पश्चात् पनि कार्य प्रगति नभएकाले ठेक्का तोड्नु परेको हो मन्त्रालयले जनाएको छ ।

'तामाङले पटक पटक सो ठेक्काको म्याद थप गर्न उपप्रधानमन्त्री सिंहसँग ताकेता गरेपनि म्याद थप भएन' एक सचिवालय सदस्यले भने 'जिल्लामा शहरी विकास मन्त्रालयबाट सन्तोषजनक बजेट गएपनि तामाङको आक्रोशको कारण भने नियम विपरित ठेक्काको म्याद नथपिनु रहेको हो ।' तामाङको कम्पनी समयमै काम नगरेका कारण पटक पटक कालोसूचीमा पर्दै आएको छ ।