बिहीबार १५ जेठ, २०८२
Thursday, May 29, 2025

यु–१६ सुदूरपश्चिम छनोटः कैलालीको लगातार दोस्रो जित

बैतडी- एसिसी मेन्स यु–१६ इस्ट जोन कप–२०२५ को सुदूरपश्चिम छनोटमा कैलालीले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा अछाममाथि ७१ रनको जित निकालेको कैलालीले सोमबार दोस्रो खेलमा दार्चुलालाई ९४ रनले पराजित गरेको हो ।

कैलालीले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको दार्चुला १६ दशमलव तीन ओभरमा ३६ रनमा अलआउट भयो । दार्चुलाका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कैलालीका रुद्रप्रसाद आचार्य पाँच विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले बताएका छन् । 

यसअघि पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ३० रन बनायो । जसमा अविरल विकले अर्धशतकीय पारी खेल्दै ५३ रनमा नटआउट रहे । दार्चुलाका रोशन मिश्र र पुरषोत्तम रावलले दुई–दुई विकेट हात पारे । दार्चुलाको यो दोस्रो हार हो । यो हारले दार्चुला बाहिरिएको छ । कैलालीले भने फाइनलका लागि दाबी पेस गरेको छ ।

यसैबीच सोमबार हुने भनिएको अछाम र कञ्चनपुरबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । आज हुने कैलाली र कञ्चनपुरबीचको खेलले फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्ने छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना जेठ ८ देखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जनाएका छन् ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको छनोटका लागि यही महिना राष्ट्रिय प्रतियोगिता गर्दैछ ।