भिजिट भिसामा युरोप,एशिया र अफ्रिकन मुलुक पठाउन रकम संकलन

काठमाडौँ- सरकारले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेको थियो । गृह मन्त्रालयमार्फत कठोर नीति लागू भएपछि विकल्पका रूपमा ‘सेटिङ’ मिलाएर मानव तस्करी गर्न सरकार लागि परेको पाइएको छ ।
ट्राभल एजेन्सी, एयरलाइन्स, कर्मचारी, र बिचौलियामार्फत रकम लेनदेन गरेर नेपालीलाई विदेशका विभिन्न भूमिमा पुर्याउँने गरेको अख्तियारको असुन्धानले जनाएको छ । भिजिट भिसामा गिरोहले भिजिट भिसामा युरोप जान चाहने व्यक्तिबाट तीन लाख रुपैयाँसम्म र अन्य मुलुकका लागि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म उठाउने गरेको थियो ।
विमानस्थल अध्यागमनमा सेटिङमा कर्मचारी खटाउने, ती कर्मचारीले गिरोहको सञ्जालभित्र रहेका बिचौलिया र ट्राभल एजेन्सीका मान्छेसँग मिलेमतो गरी भिजिट भिसामा मानिस पठाउने गरेका छन । अख्तियारका अनुसार गिरोहबीच ‘कोड भाषा’ प्रयोग गर्ने गरेको खुलेको अनुसन्धानले उल्लेख गरेको छ ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले फागुन २०७८ मा भिजिट भिसामा जानेका लागि ‘वार्षिक ५ लाख रुपैयाँ करयोग्य आम्दानी हुनुपर्ने, त्यसको आधा रकम बैंकमा मौज्दात हुनुपर्ने, खाडीमा दुई पटक र त्यसबाहेकका देशमा एक पटक घुमेको हुनुपर्ने, १२ कक्षा उत्तीर्ण भएको, अंग्रेजी बोल्न जान्ने हुनुपर्ने, विदेशबाट कसैले स्पोन्सर गरे वा नातागोताले आमन्त्रण गरे नातागोता नाता–प्रमाणित हुने कागजात र नभए स्पोन्सर गर्नेको विवरणसमेत उल्लेख गर्नुपर्ने’ सर्तसहितका प्रबन्ध समेटेर १७ बुँदे मापदण्ड जारी गरेका थिए ।
खाणका पालामा जारी गरिएको १७ बुँदे मापदण्ड नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेपछि खारेज गरियो र माघ २०८० मा ६ बुँदे सर्त राखेर नयाँ मापदण्ड लागू गरियो । त्यसमा भिजिट भिसामा जान ‘कम्तीमा ६ महिनाको अवधि भएको राहदानी, भिसा, टिकट, गन्तव्य मुलुकको होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजातसहितका आवश्यक सर्त’ समेटिएको छ । मापदण्ड केही खुकुलो भए पनि अध्यागमनका कर्मचारीले नेपाली यात्रीबाट उही शैलीमा रकम असुल्दै आएका छन् ।
भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालयका अधिकारीहरू नै अनुसन्धान दायरामा तानिएका छन् । गृह प्रशासन र संगठित गिरोहको मिलेमतोमा तस्करी भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयअन्तर्गतका कर्मचारी प्रशासन महाशाखा, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका केही कर्मचारीलाई अनुसन्धानको घेरामा राखेको हो ।
गिरोहसँग मिलेर रकम असुल गर्दै भिजिट भिसामा नागरिकलाई विदेश पठाएको आरोपमा विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारका एक अधिकारीका अनुसार यसमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको छ ।
प्रमुख अध्यागमन अधिकृत भट्टराई पक्राउ परेकै दिन अख्तियारले भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजकी कर्मचारी कविता पौडेल र हात्तीसारस्थित ग्रिनल्यान्ड होलिडेज ट्राभलका सञ्चालक बालकृष्ण खड्कालाई बोलाएर प्रारम्भिक छानबिन गरेको थियो । बोलाएका बखत उपस्थित हुने गरी कागज गराएर उनीहरूलाई छाडिएको छ ।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसामा मिलेमत्तो गरेको आरोप लागेपछि आरोपबाट बच्न गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि दोष थुपारेको बताएका छन् ।
खाँदबारीमा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई जोडेर कांग्रेसको बदनाम गर्न खोजिएको बताएका छन् । उनले कांग्रेसका नेताहरु बद्नियत राखेर काम नगर्ने दाबीसमेत गरे ।
पछिल्लो समय सरकारमा गएका कांग्रेसका मन्त्रीहरु अनावश्यक विवादमा मुछिएको बताए । कम्युनिष्ट पार्टीको अधिनमा देशको ठूलो पाटी काङ्ग्रेस बसेको उनको भनाइ थियो ।
भिजिट भिषा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरेका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।
‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजि राखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौँ गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु ।’ गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले राजीनामा दिन सुझाव दिएका हुन् ।
अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए । 'नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ’ कोइरालाले भने ।

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया