समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

देउखुरी (दाङ)- घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छिन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
उनले भनिन्, “नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनीले बताइन् ।
“समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भनिन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् ।
जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताइन् । उनीले भनिन्, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”
घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गर्नुभएको छ । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो । मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उनले बताइन् । अहिले उनीसँग १० घार मौरी छन् । उनीका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उनीले बताइन् । गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताइन् । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुन् । उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छन् । समूहमा आबद्ध भएपछि उनीले च्याउखेतीको तालिम लिइन् । उनीले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरिन् । चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन् । समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन् । उनीहरुको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।
घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन् । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भनिन् । पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरिन् । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनीले आग्रह गरिन् ।
मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुबोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताइन् । उनले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताइन् । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिइन् । रासस

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

प्रतिक्रिया