आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ओलीले धुम्‍बाराहीमा के देखे सुरक्षा थ्रेट ?

पौडेल भन्‍छन्- कोभिड

फाइल तस्बिर

काठमाडौं : नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा र भीडभाडको कारण देखाउँदै बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमै सारेका छन् । १३ गतेको सचिवालय बैठकले पार्टी कार्यालय धुम्बाराहीमा बस्‍ने निर्णय गरे पनि अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाएर बैठकस्थल सारेका हुन् । नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । हुनत, उनी प्रधानमन्त्री भएदेखि नै सबैजसो बैठक त्यही राख्दै आएका छन् । बालुवाटार राख्दा अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूह त्यहाँ जाँदैनन कि भन्‍ने थियो ।

सत्तारुढ नेकपाको सचिवालय बैठक पार्टी कार्यालय साँघुरो भन्दै बालुवाटारमा नै बस्‍ने तय भएको छ । कोभिडको समयमा भीडभाड हुने हुँदा उपलब्ध स्थान साँघुरो र सुरक्षाको दृष्टिकोणले पनि असहज हुँदा बालुवाटारमा नै राख्‍ने निर्णय भएको सदस्यहरूले बताए । ‘बैठक बालुवाटारमा बस्‍ने तय भएको छ । धुम्बाराहीमा बैठक बस्दा कोभिडको कारण केही भीडभाडले समस्या पर्ला भनेर त्यता सरेको हो,’ महासचिव विष्णु पौडेलले भने ।

उनले अध्यादेशको विषयमा बाहिर हल्ला भएको कुरालाई भने इन्कार गरे । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए । मंगलबार विहान महासचिव पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नै बस्‍ने सूचना नेताहरूलाई दिएका थिए । उनले त्यसको कारणमा कोभिड १९ र स्थान साँघुरोको संज्ञा दिएका थिए । त्यसपछि दाहालले जनवर्गीय संगठन कार्यालय पेरिसडाँडामा बसौं भन्‍ने सन्देश दिएका थिए ।

पार्टीको बैठक लगातार सरकारी कार्यलयमा गर्नु उचित नहुने धारणा दाहाल पक्षधरले राख्दै आएका छन् । दाहाल पक्षधरले पार्टी कार्यालयमा के ‘सुरक्षा थ्रेट’ छ र भन्दै प्रधानमन्त्रीको धारणाबारे आश्चर्य व्यक्त गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल सोमबार लामो समय राष्ट्रपति कार्यालयमा समेत पुगेर बैठक र आफ्नो समूहको धारणा राख्दै छलफल गरेपछि दलसम्बन्धी अध्यादेश फेरि प्रधानमन्त्रीले ब्युताउन लागेको आशंका गरिँदैछ ।

र, यो पनि
- संसद् विघटन र नेकपा फुटबारे पोखरेल भन्छन्- संविधान र कानुनलाई नजरअन्दाज गर्न मिल्दैन्