आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

भन्सार क्षेत्रमा नै तौलपुल राख्ने तयारी - मन्त्री दाहाल

फाइल फाेटाे

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भन्सार क्षेत्रमा नै तौलपुल राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । 

सोमबार सिंहदरबारमा यातायात व्यवसायीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री दाहालले भारतबाट नेपाल भित्रने मालवहाक सवारीको भारवहन मापन गर्न भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् । 

यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय , उद्योग र अर्थ मन्त्रालयबीच छिटै छलफल हुने उनले बताए । मन्त्री दाहालले देशभर रहेका १२ वटा तौलपूललाई केन्द्रीय डाटा प्रणालीमा जोडिने जानकारी दिए । उनले भारवहन सीमा उल्लंघन हुँदा पुल र सडकमा क्षति पुग्ने भएकाले कडाइका साथ लागू गर्ने र देशका अन्य आवश्यक स्थानमा समेत प्रविधिमैत्री तौलपुल जडान गर्ने प्रतिबद्धता जनाए । भारवहन सम्बन्धी कार्यविधिमा रहेका विषय लागू नभएको भन्दै उनले यसलाई बाध्यात्मक रूपमा लागू गराइने बताए । 

यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने लगायतका ८ बुँदे मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।