आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

भक्‍तपुरस्‍थित सरकारका तीन सचिवको गाउँ एक वर्षदेखि सडक पहिरो

आउजाउ ठप्प, घर जोखिममा

भक्तपुर चाँगुनारायण नगरपालिका-३ गेलाल गाउँमा गएको पहिरो । तस्‍बिर: नवराज अधिकारी

काठमाडौं : अनुमानित लागतभन्दा ३७ प्रतिशत कममा ठेक्का कबोल गरेको ठेकेदारले भक्तपुर चाँगुनारायण नगरपालिका–३ गेलाल गाउँमा पहिरो गएर भत्केको सडक पाँच महिनामा पनि बनाउन सकेन । यसले गर्दा आम चाँगुवासी समस्यामा परेका छन् ।

अर्काे विकल्पको रुपमा तयार गरिएको गेलालगाउँ–झौखेल सडक खण्डमा रहेको पुल भत्किंदा चाँगुवासी नाकाबन्दीमा परेको अनुभव गर्न थालेका छन् । गत भदौमा पहिरो गई सडक विच्छेद हुन पुगेको हो । पहिरोको आकार बढ्दै जाँदा स्थानीय वासिन्दाका घरमा यसको चपेटामा पर्ने जोखिम उत्तिकै छ । 

यो गाउँ नेपाल सरकारका तीनजना सचिवको जन्मस्थान पनि हो । अर्थ सचिव शिशिर ढुंगाना, सिंचाइ सचिव मणिराम गेलाल र गृह सचिव महेश्वर न्यौपानेको घर यही क्षेत्रमा पर्छ । ‘जतिसुकै पावरफुल भए पनि ठेकेदार गतिलो नपरेपछि काम नहुँदो रहेछ’ स्थानीय वासिन्दा भन्ने गर्छन् । यो सडक पुनःनिर्माणको ठेक्का सुवर्ण/भण्डारी/आरुसा जेभी (संयुक्त उपक्रम) ले गत माघ ८ गते लिएको थियो । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनासँग यो ठेकेदारले एक करोड ८२ लाख ७२ हजार ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो रकम कूल अनुमानित लागतभन्दा ३७ प्रतिशत कम हो । सम्झौताअनुसार ठेकेदारले यही असार मसान्तसम्म काम पूरा गर्नुपर्ने थियो । 

कोरोना महामारी, डिजाइन परिवर्तन, सडक सिमांकनमा स्थानीयको अवरोधका कारण काममा ढिलाई भएको ठेकेदार रविन्द्र श्रेष्ठले बताए । ‘टेण्डर गर्दा दुईतर्फी सडकको थिएन, पछि दुईतर्फी गर्ने भनियो, सीमा छुट्याउँदा स्थानीय वासिन्दाले अवरोध गरे,’ श्रेष्ठले ढिलाइको कारण प्रस्ट्याउँदै इकागजसँग भने, ‘अब म्याद थप नगरी असार मसान्तभित्र काम सकिंदैन ।’

टेण्डर गरिसकेपछि पहिरो गएकाले डिजाइन परिवर्तन गर्नुपरेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताए । ठेकेदारलाई निरन्तर निगरानीमा राखिएकाले एक, दुई दिनभित्र आउजाउसम्म गर्न हुने गरी काम गरिएको उनको भनाइ छ । यता आयोजनाका इन्जिनियर दीपक साहले ठेकेदारले म्याद थपका लागि निवेदन दिएको बताए । सरकारले कोरोनाका कारण निर्माण कार्यमा ६ महिना म्याद थप गर्ने निर्णय गरेकाले उसको पनि म्याद थप हुन सक्ने साहले बताए । साहले पनि कोरोना, वर्षात्, स्थानीय अवरोध, डिजाइन परिवर्तन र ठेकेदारको आन्तरिक व्यवस्थापनमा समस्या भएका कारण निर्धारित समयमा उक्त सडक पुनः निर्माण कार्य हुन नसकेको स्वीकार गरे ।

दुईवटा बाटो बनाउनुपर्ने अवस्था ठूलो पहिरो गएपछि भएकाले ठेकेदारलाई पाँच प्रतिशतको भेरियसन अर्डर दिइएकाले केही समय यसमा लाग्न पुगेको इन्जिनियर साह बताउँछन् । यो सडक पुनःनिर्माणको करिब ५० प्रतिशत काम सकिएको साहले जानकारी दिए । ठेकेदारले भने २० प्रतिशत मात्र भुक्तानी लगेको छ । म्याद थप भएर आएमा दशैंअघि उक्त सडक पीच गरिने साहले बताए । यसका लागि स्थानीय वासिन्दाको सहयोग र ठेकेदारको तदारुकता हुन जरुरी रहेको उनको भनाइ छ । ‘अबको १५ दिनभित्र वाल लगाउने कार्य पूरा हुन्छ, त्यसपछि सडकमा हिंडडुल गर्न सकिन्छ,’ साहले भने, ‘पानी पर्ने क्रम कम भएपछि मात्र पीच हुनेछ ।’
विश्व सम्पदामा सूचिकृत चाँगुनारायण मन्दिर आउने सहायक मुख्य सडक यही हो । चाँगुनारायण नगरपालिकाले अर्काे वैकल्पिक बाटो (गेलाल गाउँ–झौखेल) मा पर्ने पुल मर्मत नगरिदिएकाले आउजाउ गर्न समस्या रहेको स्थानीय वासिन्दा बताउँछन् । 

नगरपालिकाले उक्त सडक दुई लेनको बनाएको छ । तर बीचमा पर्ने खोल्सी तर्ने पुल भने कच्चा छ । नगरपालिकाले चाँगुनारायण भासिने गरी बालुवाको ठेक्का लगाएकाले दिनमा दर्जनौं भार बोकेका ट्रकहरुको ओहोरोदोहोरले सडक भासिने र पुल भत्किने अवस्थामा पुग्न लागेको छ । स्थानीय वासिन्दाले उक्त वालुवा उत्खनन् गरी ठेक्का लगाएकोमा आक्रोश पोक्दै आएका छन् ।