आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

दक्षिण एशियाका देशहरूले खोप पाए, नेपालले किन पाएन ?

काठमाडौँ : नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड–१९ वरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको, श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको सांसद देवले बताए । यही सन्दर्भमा सरकार किन फेल भयो ? भन्ने प्रश्न उनले गरे ।

उनले भने,‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरू फेल भएकोे छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरू सँगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपालको सरकारसँग किन डिल गर्न चाहेनन् ।  दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरुसँग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ?’

राष्ट्रिय सभा सदस्य देवले कूटनीतिक असफलताका कारण नेपालले अन्तराष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्ततः एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गरे । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको उनले बताए । 

उनले भने,’हाम्रा परम्परागत मित्रहरू चीन भारत, अमेरिका, जापान लगायतका जर्मनी फ्रान्स जस्ता देशहरू र हाम्रो रिलेसन कोल्ड भयो । नेपाली कांग्रेसको कन्सन्ट त्यो हो । सम्बन्धलाई बनाउन , मिठास बनाउ प्रोएक्टिभ बनाउन मुलुकले धेरै मेहनत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सिमित हुनु परेको छ ।’