सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

बजेट अभावले औद्योगिक उद्यान निर्माण हुन सकेन

काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो ।

वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा उद्यान निर्माण प्रक्रिया अघि बढाइएको थियो । विसं २०८० मङ्सिर २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको शिलान्यास गरेको थियो ।

शिलान्यासको करिब एक महिनापछि नगरले उद्यानका लागि भौतिक पूर्वाधार निर्माणार्थ मन्त्रालयसँग रु २७ करोड माग गरिएको थियो । “मन्त्रालयबाट गत वर्ष पनि बजेट आएन, चालु आर्थिक वर्षमा पनि कुनै बजेट छुट्याइएन, यसकारण उद्यानको प्रक्रिया नै थन्किएको छ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार चालु आवमा नगरले ‘म्याचिङ–फन्ड’का रुपमा उद्यानका लागि चार करोड छुट्याइएको छ । सरकारसँग उद्यान निर्माण सुरु गर्न यस वर्ष २० करोड बजेट माग गरिरहेकाले म्याचिङ फन्डका लागि उक्त रकम छुट्याएको नगरप्रमुख खरेलले बताए ।

प्रथम हरित महिला औद्योगिक ग्राम स्थापना र विकासका सम्बन्धमा पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्बीच २०७६ भदौ २० गते सम्झौता भएको थियो । विसं २०८० जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले महिला औद्योगिक ग्राम बनाउन पाँचखालमा निर्माणाधीन उद्यानलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नगरले २५ वर्षका लागि करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा भाडामा उपलब्ध गराएको छ ।

उद्यान निर्माणका लागि कुल ९६ करोड अनुमान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त परियोजनाका लागि गत वर्ष विनियोजित दुई करोडबाट नगरले उद्यानको गुरुयोजना निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), उद्यान निर्माण हुने स्थानमा घेराबार तथा पहुँच मार्ग निर्माण र खानेपानीको व्यवस्थापन गरेको प्रमुख खरेलले बताए । उनका अनुसार भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछि उद्योग सञ्चालनार्थ पहिलो चरणमा स्थानीय ७० महिलालाई औद्योगिक तालिमका लागि भारत पठाइनेछ ।

उद्यानभित्र निर्माण हुने संरचना स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरी भूकम्प प्रतिरोधी बनाउने, उद्योगका लागि पार्कभित्र सेवा केन्द्र, प्रशिक्षण केन्द्र, गोदाम, शीत भण्डार, मार्केटिङ प्लेटफर्म, कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित मेसिनरी साझा रहने मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष प्रमिला रिजालका अनुसार उद्यानभित्र वर्षाको पानी सङ्कलन गर्ने, फोहोर व्यवस्थापन, पानीको पुनः प्रयोग गर्न मिल्ने प्रविधि जडान हुनेछभने उद्यानभित्र सडक बत्तीसमेत नवीकरणीय (सौर्य) ऊर्जा प्रयोग हुनेछ ।

उद्यानभित्र महिलाद्वारा सञ्चालित ५० लघु, साना र मझौला उद्योग स्थापना हुनेछन् । नेपाली महिला उद्यमीलाई सहयोग र सशक्तीकरण गर्दै नयाँ प्रविधिसाथ हरित अर्थ व्यवस्थालाई बढावा दिने परियोजनाको मुख्य उद्देश्य हो । यो परियोजना लागू भएपछि महिला उद्यमशीलताको विकास हुनाका साथै र महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । पार्कमा पाँच सयदेखि एक हजार महिला रोजगार एवं उद्योगी बन्नेछन् ।

उद्यानबाट दक्षिण एसियाका सबै मुलुकभित्र हुने उद्योगका सीप, प्रविधि र अनुभव साट्दै पार्कका उत्पादित सामग्री निर्यात गरिने जनाइएको छ । “यो नेपाली महिलाको आर्थिक सशक्तीकरणमा दक्षिण एसियामै नमूना हुनेछ, पार्कभित्र प्रविधि, सीप स्थानीय वस्तुको प्रयोगसँगै हरित क्रान्तिको अभियानलाई सफल बनाउन आवश्यक पूर्वाधारहरु तयार गर्नेछौँ”, रिजालले भने ।

उद्यानमा उत्पादित सामानहरुको प्याकेजिङ, ग्रेडिङ तथा प्रशोधनका लागि सीप र प्रविधिको उच्चतम प्रयोग गरी उत्पादित सामग्री निर्यातसँगै नेपालका मुख्य चोक चोकमा हरेक हप्ताको एक पटक हाटबजारका रुपमा बिक्री गर्ने मञ्चको योजना छ । यस्तै, स्थानीयस्तरमै प्राप्त हुने कच्चापदार्थ तीतेपाती, रातोमाटो, सिस्नु, अमला, मह, कोदो, आलुलगायत विभिन्न खालका तरकारी तथा अन्य सामाग्रीको प्रयोग गरिने बताइएको छ । रासस