आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

राष्ट्रिय सभामा १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस

काठमाडौँ : राष्ट्रिय सभामा पेस भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका  १६ वटा अध्यादेशहरू मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो ।

संसद् सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेस गर्न चाहाने सांसदहरुका लागि असार २० गते सम्मको समय दिएको थियो । राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोज कुमार गिरीले २० गते सम्ममा १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव पेस भएको र बाँकी रहेको ६ वटामा अस्वीकार प्रस्ताव पेस नभएको बताए ।

राष्ट्रिय सभामा पेश भएका अध्यादेशहरू मध्ये बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) अध्यादेश २०७७, संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा(पहिलो संशोधन(अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ मा अस्वीकार प्रस्ताव पेश भएका छन् ।

त्यस्तै नेपाल नागरिकता(पहिलो संशोधन) अध्यादेश २०७८, शपथ सम्बन्धी अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ मा पनि अस्वीकार प्रस्ताव पेश भएको सचिव गिरीले जानकारी दिए । उनले भने ‘ती सूचनाको कारबाहीको प्रक्रिया सभाले गर्ने प्रक्रियामा प्रस्तावका प्रस्तोता माननीय सदस्यले आफ्नो प्रस्ताव सभामा पेस गर्नेछन् ।