जो बुट्टामा जीवन्त बनाउँछिन् बिहेका सम्झना

काठमाडौँ : लकडाउन कसरी बिताउने ? टिकटक बनाउने, फेसबुक चलाउने, फिल्म हेर्ने, किताब पढ्ने वा क्लब हाउसमा घण्टौं रत्तिने ? काठमाडौं माकलबारीकी सबु रानामगरलाई भने यी कुनै कुराले छोएनन् । बरु उनलाई लोभ्यायो, आफ्नो पुरानै सीपले । त्यो सीप थियो, सम्झनाका बुट्टा भर्ने जसलाई चल्तीको भाषामा ‘इम्ब्रोइडर्ड क्यालेन्डर’ भनिन्छ ।
त्यसो त सबुले बुट्टामा धेरै कुरा कुँद्न सक्छिन् तर कुँदाउनेले भने उनलाई बिहेका सम्झना कुँदेको मन पराउँछन् । बिहेको यादलाई मानिसहरू वर्षौसम्म सम्हालेर राख्न चाहन्छन् । ती यादलाई सम्हाल्न उनीहरू अनेक उपाय अपनाउँछन् । कोही बिहेमा लगाएको दुबोको माला फ्रेम गरेर राख्छन् । कसैले बिहेको कार्ड धमिराले नखाओस् भनेर जतनसाथ राख्छन् त कसैले बिहेको फोटा ठूलो बनाएर भित्तामा सजाउँछन् । तर, पछिल्लो समय बजारमा बिहेका सम्झना संगाल्ने नयाँ उपाय आएको छ, ‘इम्ब्रोइडर्ड क्यालेन्डर’ ।
त्यही इम्ब्रोइडर्ड क्यालेन्डर बनाउने २३ वर्षीया सबु रानामगरलाई आजभोलि धेरैले चिन्छन् । बिहेको सम्झना जीवन्त बनाइदिन आग्रह गर्छन् । काठमाडौँस्थित माकलबारीकी सबु पेशाले डेन्टल हाइजेनिस्ट हुन् । इम्ब्रोइडर्ड क्यालेन्डर भने लकडाउनको फुर्सदले फुरेको जुक्ति हो ।
वैशाखमा निषेधाज्ञा भएपछि सबु फुर्सदिली भइन् । फुर्सदिलो समय उनलाई सामाजिक सञ्जालमा बिताउन मन लागेन । त्यहीबेला उनकी एकजना साथीले दाजु–भाउजूलाई गिफ्ट गर्नुपर्यो भन्दै इम्ब्रोइडर्ड क्यालेन्डर बनाइदिन आग्रह गरिन् । साथी सबुको यो सीपबाट सानैदेखि परिचित थिइन् । सबुले साथीको दाजु भाउजूको बिहेको मिति र तस्बिरलाई सियो धागोको सहायताले साधा कपडामा उतारिन् । दुई दिन लगाएर बनाएको इम्ब्रोइडर्ड क्यालेन्डर पाउँदा उनकी साथीको खुशी हेर्न लायक थियो । ‘उसले मैले बनाएको इम्ब्रोइडर्ड क्यालेन्डर आफ्नो टिकटकमा भिडियो बनाएर हालिछ,’ सबुले भनिन्, ‘हालेको केही घण्टामै भिडियो भाइरल भयो । यसपछि त मलाई पनि बनाइदिनुप¥र्यो भन्दै धमाधम अर्डर आउन थाल्यो ।’
सोखले सुरु गरेको सीपलाई कसरी व्यवसायिक बनाउने उनलाई आइडिया थिएन । आफ्नो सीपको मोल कति पर्छ त्यो पनि उनले सोच्न भ्याएकी थिइनन् । तर, अर्डरको ओइरो लागेपछि भने उनले आफ्नो कलालाई औपचारिक नाम दिइन्, इन्स्टामा ‘बुट्टा नेपाल’ नामको पेज खोलेर । त्यहाँ सबुले आफूले बनाएका इम्ब्रोइडर्ड क्यालेन्डरका फोटो, भिडियो राख्न थालिन् ।
वैशाखदेखि अहिलेसम्म उनले ३० ओटाभन्दा बढी इम्ब्रोइडर्ड क्यालेन्डर बनाएर बेचिसकिन् । उपत्यका मात्रै नभएर उपत्यकाबाहिरबाट पनि उनलाई उत्तिकै अर्डर आइरहेको छ । फ्रेममा राखेर तयार गरिएको इम्ब्रोइडर्ड क्यालेन्डर उनी २५ सयदेखि ३ हजारसम्म लिन्छिन् । ‘सियो धागोबाट बुट्टा जोडेर फोटो बनाउनुपर्छ,’ उनले भनिन्, ‘मेहनत एकदमै लाग्छ । तर, मेहनतअनुसारकै माया पनि पाइरहेको छु ।’
सबु स्कुल पढ्दादेखि नै पकेट मनिका लागि लुगामा बुट्टा भर्ने काम गर्थिन् । यो सीप उनले आफ्नै दिदीबाट सिकेकी थिइन् । ‘पकेट मनिको लागि म र मेरा दुईजना दिदीहरू लुगामा बुट्टा भर्ने काम गथ्र्यौँ,’ उनले सम्झिइन्, ‘त्यसैको आडले अहिले पनि मलाई इम्ब्रोइडर्ड क्यालेन्डर बनाउने जाँगर पलायो । फुर्सदको समयमा केही कमाइ भयो र घरमा यत्तिकै बस्न पनि परेन ।’
कोभिडले पूर्णरुपमा जनजीवन सामान्य नभएसम्म उनले यही कामलाई निरन्तरता दिने विचार गरेकी छिन् । अहिले उनलाई अर्डर पुर्याउन भ्याइनभ्याइ छ । आएका अर्डर पूरा गरेपछि भने केही महिनापछि डेन्टल हाइजेनिस्टकै काममा फर्किने उनको विचार छ । तर, यसलाई पछिसम्म निरन्तरता दिनेबारे पनि सबु सोचिरहेकी छिन् । ‘मैले सिकेको कुरा सिक्न चाहनेलाई सिकाएर व्यावसायिकरण गर्नुपर्ला भन्ने विचारमा छु,’ उनले भनिन्, ‘यसो गर्दा आफूलाई मन लागेको कामले निरन्तरता पनि पाउने भयो । अरुले पनि रोजगारी पाउने भए ।’

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया