नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिरो

चितवन : निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।
शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए । त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । 'मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।' सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।
पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउँछन् । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए। सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उनले जानकारी दिए ।
शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरूको बिचल्ली परेको सामुहिक तस्बिरहरू सार्वजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया