बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

नयाँ स्टक एक्सचेन्जबारे सरकारको निर्देशनअनुसार अघि बढ्छु: अध्यक्ष श्रेष्ठ

काठमाडौं - पाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज स्थापना सरकारको नीति निर्देशनअनुसार अघि बढ्ने बताएका छन्। बुधबार सातदोबाटोस्थित बोर्ड कार्यालयमा कार्यभार सम्हाल्दै उनले पुँजीबजारको दायरा विस्तार र समस्याको दीर्घकालीन समाधान आफ्नो प्राथमिकता रहेको बताए।

बोर्डमा लामो समयदेखि नेतृत्वको अभावले अड्किएका कामहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले लगानीकर्ताको सुरक्षा र पुँजीबजारको भूमिकालाई अर्थतन्त्रसँग प्रभावकारी ढंगले जोड्ने योजनामा आफू स्पष्ट रहेको उल्लेख गरे।

श्रेष्ठले भने, "धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा थुप्रै काम रोकिएका थिए। मेरो प्राथमिकता लगानीकर्ताको सुरक्षा र पुँजीबजारको भूमिका विस्तार गर्दै त्यसलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनु हो।"

नयाँ स्टक एक्सचेन्जबारे सरकारले गठन गरेको समितिले सुझाव बुझाइसकेको जानकारी गराउँदै उनले अब सरकारको निर्देशनअनुसार आवश्यक कदम चालिने बताए। "नयाँ स्टक एक्सचेन्ज आवश्यक छ भन्नेमा म स्पष्ट छु। सरकारको निर्देशनअनुसार यसको प्रक्रिया अघि बढ्नेछ," श्रेष्ठले भने।

कार्यभार सम्हाल्दै श्रेष्ठले बोर्डको आफ्नै भवन निर्माण पहिलो प्राथमिकतामा रहेको र यसबारे अर्थमन्त्रीसँग सकारात्मक छलफल भइसकेको जानकारी दिए।

आइपीओ जारी गर्ने प्रक्रिया स्थायी नेतृत्वको अभावमा अड्किएको भए पनि अब ती समस्या समाधान हुने अध्यक्ष श्रेष्ठले बताए। उनले नियमित प्रक्रियालाई गति दिने र पुँजीबजारमा सरोकारवाला निकायहरूसँग सहकार्य गरी सुधार ल्याउने अठोट व्यक्त गरे।

पुँजीबजारको दीर्घकालीन विकासमा ठोस योजना र स्थायित्वका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले नेपाली पुँजीबजारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताए।