मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

मुस्ताङको स्याउ बिक्रि हुने मुख्य बजार पोखरा हो । पोखरामा मुस्ताङको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ ।
पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गर्दै आएका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पा बताउँछन् ।
पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । “उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन”, शेर्पाले भने, “यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।”
विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् ।
“नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ”, शेर्पा भन्छन्, “उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।” बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले बताए ।
मुस्ताङको मुख्य फलफूलखेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएकोे पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो ।
स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन÷तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट रक्सीसमेत बनाउन थालेका छन् ।
मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए । राजेशका अनुुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष रु ९१ करोड ८६ लाखको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो ।
जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसयस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको प्रमुख राजेश गुरुङ बताउँछन्
“पछिल्लो समय किसान उच्च घनत्व प्रविधिमा स्याउ लगाउन आकर्षित बनेका छन्”, उनले भने । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, शीतोष्ण बागबानी विकास केन्द्रमार्फत तथा स्थानीय तहको समन्वयमा यसमा लाग्ने रोगकिरा व्यवस्थापनलाई प्राथमिकता दिएपछि स्याउको उत्पादन बढ्दै गएको प्रमुख गुरुङको भनाइ छ ।
स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो । सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया