शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

अदालतले रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्‍न दियो अनुमति

तस्विरः फाइल फोटो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने माथि तेस्रो पटक थपिएको म्याद आज सकिएको थियो । आजै उनलाई अदालत उपस्थित गराइएको थियो ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यसअघि अदालतबाट पहिलो पटक ६ र दोस्रो पटक ७ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो । गत कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई पोखरा लगिएको थियो ।

लामिछाने सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सरकार समक्ष कारबाही सिफारिस गरेको थियो । सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।