आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

कोभिडपछि काममा फर्किन समस्या

काठमाडौँ : निषेधाज्ञाले दुई महिना घर बसेपछि बाहिरै निस्किन नपरे हुन्थ्यो जस्तो भएको छ काठमाडौँ म्हैपीकी सालिनी वलीलाई । कपडा पसलमा काम गर्न उनी आउने आइतबारबाट काममा फर्किँदैछिन् । तर, अहिलेसम्म उनलाई काममा फर्किने कुनै जाँगर छैन । ‘दुई महिना घरमै बसियो,’ उनले सुनाइन, ‘लकडाउन सुरु हुँदा घरमा बस्‍न गाह्रो भो लकडाउन खुलेपछि काममा फर्किन ।’ उनी मात्रै होइन उनका थुप्रै साथीले निषेधाज्ञापछि काममा फर्किन गाह्रो भएको अनुभव साटेका छन् । 

काठमाडौँ गोठाटारका अभिनव ठकुरी यही बुधबारबाट काममा फर्किए । पहिला जति फुर्तीसाथ उनी काममा मन लगाउँथे, अहिले उनको त्यो फुर्ती सेलाएको छ । निषेधाज्ञाले उनको पनि काम गर्ने बानी बिगारिदिएको छ । उनी होटलमा काम गर्छन् । ‘अरुको जस्तो ‘वर्क फ्रम होम’ गर्न मिल्ने भएको भए सायद यस्तो हुँदैनथ्यो होला,’ उनले भने, ‘होटलको काम त घरमा बसेर पनि गर्न नमिल्ने । कोभिडपछि होटल खुलेपनि काम गर्ने जाँगर पलाएको छैन ।’

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सटर खुल्न र गाडी गुड्न थाले । मानिसहरू बिस्तारै सामान्य दैनिकीमा फर्किन थालेका छन् । तर, केहीमा भने कोभिडपछि पुनः काममा फर्किन समस्या देखिन थालेको छ । मनोविश्लेषक बासु आचार्य यसलाई परिस्थितिले सिर्जना गरेको सामान्य समस्या मान्छन् । निषेधाज्ञाले घरमै बस्‍ने बानी बनाएको हुनाले केही दिन बाहिर निस्किन नपरे हुन्थ्यो जस्तो लाग्‍ने उनी बताउँछन् । ‘सुरुमा निषेधाज्ञाले घरमा बस्‍नुपर्दा पनि समस्या नै भएको थियो,’ उनी भन्छन्, ‘अहिले घरबाट बाहिर निस्किएर काम गर्नुपर्दा पनि गाह्रो भएको हो ।’

उनका अनुसार पछिल्लो समय केहीमा घर बाहिर निस्किन मन नलाग्‍ने, काम गर्न मन नलाग्‍ने, काम गर्ने आत्मविश्वास घटेको जस्तो महसुस हुने, बिनाकारण मुड अफ हुने जस्ता समस्या देखिएका छन् । यस्ता व्यक्तिहरूलाई मनोवैज्ञानिक परामर्शको जरुरी हुने उनी बताउँछन् । केहीलाई भने लामो समयसम्म यो समस्या देखिएमा ‘लो डोज’को औषधिसमेत चलाउनुपर्ने उनको भनाइ छ ।

मनोविद् गोपाल ढकाल भने केही व्यक्तिहरू भने कोभिड सर्ने त्रासले पनि घरबाट बाहिर निस्किन मन नगरेको बताउँछन् । ‘महामारी घटेको देखिए पनि मान्छेमा त्रास घटेको छैन,’ उनी भन्छन्, ‘बाहिर निस्किदा संक्रमण सर्ला भनेर पनि मानिसहरू काममा फर्कन मन गरिरहेका छैनन् ।’ आर्थिक रुपले समस्या खेपिरहेकाहरूलाई भने महामारीको मतलब नभएको उनी बताउँछन् ।