शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

पशुपतिमा ७ करोडको राम मन्दिर, अढाई वर्षमै निर्माण सकिने

काठमाडौँ : पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण हुने भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले धार्मिक विधिअनुसार राममन्दिरको शिलान्याश गरेका छन् । 

७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । शिलन्यासपछि मन्त्री अरगरियाले पशुपति क्षेत्रलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारको विरुद्धको आन्दोलनले मन्त्रीसम्म पुगेको भन्दै उनले भ्रष्टाचार रोक्ने एकमात्र लक्ष्य हुने जिकिर गरे ।

मन्त्री अरगरियाले पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउने नभई व्यवस्थीत रुपमा राखिने प्रतिबद्धता जनाए । सरकारी बजेटमा नभइ पशुपतिले सहयोगबाट मन्दिर निर्माण गर्न खोज्नु स्वागतयोग्य भएको र पुरातत्व बिभागको नियमअनुसार मन्दिर निर्माण गर्न सुझाव दिए । त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रका भौतिक तथा अमूर्त सम्पदाहरुको संरक्षणमा बिशेष ध्यान दिइने जिकिर गरे । उनले कोषमा देखिएका गुनासालाई सम्बोधन गर्ने जनाए ।

राममन्दिरसँगै नजिकका साधु बाबा बस्ने सतहलाई पनि पुननिर्माण गरिने कोषले जनाएको छ । पुननिर्माणका लागि सो क्षेत्रबाट बाबालाई हटाइएको थियो । तर, पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन खोजिएको भन्दै विरोध भएको थियो ।