भेमाथाङ पहिरो : न बास रह्यो, न गाँस बच्यो

सिन्धुपाल्चोक : यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुर्यायो ।
व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमीन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।
कोभिड-१९को कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमूना विद्यालयका रुपमा परिचित छ । असार १ गतेको बाढीले सामान्य क्षति पुर्याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिक रुपमा क्षति गर्यो ।
विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन रु स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै ०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन । विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो ।
०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो । एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदा चै के थियो भने विद्यालयको भवन ढले पनि जमीन चै त्यहीँ थियो । अहिले न घर छ, न जमीन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ ।
विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गए । भूकम्पको बेला जस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उनले जानकारी दिए । मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउँछन् ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया