मधेश प्रदेशमा १९ लाख बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप

जनकपुरधाम- सरकारले आजदेखि सुरु गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ ।
आज जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रबाट उपमहानगर प्रमुख मनोजकुमार साह र मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गरे ।
त्यस अवसरमा निर्देशनालय प्रमुख झाले मधेश प्रदेशका आठ जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका १९ लाख ४७ हजार एक सय ४२ जनालाई खोप लगाइने जानकारी दिए । राष्ट्रिय अभियानअन्तर्गत आजदेखि आगामी चैत ७ गतेसम्म प्रदेशका एक सय ३६ पालिकाका सबै एक हजार ७१ वडामा ११ हजार ३ सय ४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि १५ हजार पाँच सय ८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए ।
त्यस्तै, स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको दुई लाख ५१ हजार सात सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिञ्ज नेपाल सरकारमार्फत प्राप्त भएको पनि जानकारी दिइयो ।
अभियान सफल पार्न सरकारबाट जिल्ला स्तरमा कार्यक्रम खोप कार्यक्रम सञ्चालनका निम्ति रु छ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न रु दुई लाख १३ हजार नौ सय प्राप्त भएको पनि निर्देशनालयले जनाएको छ ।
जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेश प्रदेशका जिल्लाहरू दादुरा-रुबेलाको जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरवासीलाई आग्रह गरे । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा-रुबेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान सुरु गरेकाले ढुक्कका साथ आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लिनसमेत अनुरोध गरे ।
यसैगरी, वडा नं २३ का अध्यक्ष राघबेन्द्र साहले आफ्नो वडामा रहेका लक्षित दुई छ सय ५१ बालबालिकालाई खोप लगाउने बन्दोबस्त मिलाइएको बताए ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया