शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो : स्वास्थमन्त्री बस्नेत

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मूलमा ध्यान दिन आग्रह गरे ।

'क्षयरोग निर्मूलका लागि तीन वर्ष अगाडिदेखि सुरु भएको यो अभियानमा यस वर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मूलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हाे, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ,' मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले रोग लागेपछि औषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताए ।

उनले क्षयरोग निर्मूलका लागि संघीय र प्रादेशिक सरकार भन्दा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पारे । नेपालले भ्याक्सिन मागेर भए पनि कोभिडको विरुद्धमा लडेर विजय प्राप्त गरेको बताउँदै उनले यसका लागि लाग्ने सबैलाई धन्यवाद व्यक्त गरे ।