युद्धका कारण खलिद मोहम्मदले तय गरेको फुटबलको मैदानदेखि अस्पतालसम्मको यात्रा

खलिद मोहम्मद अबु-हाबेलको दैनिकी गाजामा रहेको अस्पतालमा कक्षा लिने, आफ्ना सहपाठीसँग चिकित्सा र स्वास्थ्य सेवाबारे छलफल गर्ने, आफ्ना आमाबाबुसँग खाजा-खानका लागि घर फर्कने, फुटबल प्रशिक्षणमा भाग लिने र राति पुनः अध्ययन गरेर बित्थ्यो ।
मजदुर वर्गको परिवारमा जन्मिएका खलिद मोहम्मदको आफ्ना चार दाजुभाइ र आमाबुबासँग एउटा सानो घरमा बस्थे । गाजामाथि इजरायली नाकाबन्दीका कारण खलिद अहमदको परिवारले सधैं पैसाको अभाव झेले पनि उनको चिकित्सक (डाक्टर) सँगै फुटबलर बन्ने सपनालाई साकार पार्न समर्थन गर्दै आएको थियो ।
‘मेरो लागि फुटबलभन्दा चिकित्सक बन्नु महत्वपूर्ण छ । म दुवैलाई माया गर्छु तर चिकित्सा विज्ञान निस्सन्देह बढी सम्मानजनक र महत्त्वपूर्ण छ,' खलिद मोहम्मदले भने ।
खलिद मोहम्मदका अनुसार उनले दिनहुँ पाँचदेखि सात घण्टा अध्ययन गर्थे भने हप्ताको दुईदेखि तीन दिन फुटबलको अभ्यास गर्थे । उनी दिनमा केवल ६ घण्टा मात्र सुत्ने गर्थे ।
'तर, ती प्यारा दिन थिए'
खलिद मोहम्मदका लागि ती प्यारा दिन केवल सन् २०२३ को अक्टोबर ७ सम्म मात्र सीमित भए । इजरायलले गाजामाथि आक्रमण थालेयता गाजामा २३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको अल-जजिराले जनाएको छ ।
युद्ध सुरु भएपछि उनको परिवार मघाजीबाट भागेर नुसिरत शरणार्थी शिविरमा गए । गत महिना उनीहरू पुनः फर्किए । तर, गत हप्ता जब इजरायली ट्याङ्कहरूले मघाजीलाई घेरे, उनी देइर अल-बालाहमा भागे ।
फुटबल भनेको जीवन हो
विगत १५ वर्षदेखि इजरायली घेराबन्दीमा बाँचिरहेका गाजावासीका लागि फुटबल नै जीवन हो । गाजामा सञ्चालित चार तहको फुटबल लिगका लागि दर्जनौँ क्लबहरू स्थापना भएका छन् । सकेसम्म सबैले खेल हेर्न पाओस् भन्ने उद्देश्यले लिगका खेलहरू खास गरी हप्ताको अन्त्यतिर आयोजना गर्ने गरिएको छ ।
फुटबल खेल हेर्न बालबालिकाको बाक्लो उपस्थिति हुने गरेको थियो । अहिले इजरायली आक्रमणको सिकार ती बालबालिका पनि हुने गरेका छन् । साथै उनीहरूको मनोरञ्जनको अधिकार पनि खोसिएको छ ।
इजरायली आक्रमणमा मारिएकामध्ये ९ हजारभन्दा बढी बालबालिका रहेका तथा अन्य कैयौँ भग्नावशेषभित्र हराइरहेका अल-जजिराले जनाएको छ ।
'फुटबल नछोएको तीन महिना बित्यो'
फुटबलमा जीवन खोजिरहेका सयौँ युवाजस्तै २२ वर्षीय खलिद मोहम्मद पनि अहिले फुटबल खेल्नबाट वञ्चित भएका छन् ।
फुटबल छोड्न नसक्ने खलिद मोहम्मदका अनुसार फुटबल र चिकित्सा विज्ञान (डाक्टर बन्ने सपना) लाई सँगसँगै लैजानका लागि परिवारलाई मनाउन सफल भएका थिए ।
एक वर्षअगाडि नै खलिद मोहम्मद आबद्ध क्लब अल-अताले तेस्रो डिभिजनको फुटबल लिग जित्दै दोस्रो डिभिजनमा पनि बढुवा भएको थियो ।
९ वर्षकै उमेरदेखि खेल्दै आएको बाल्यकालको क्लब खदामत अल-मघाजीबाट लोनमा उनी सन् २०२२ मा अल-अतामा आबद्ध भएका थिए ।
'यस सिजनमा आफ्नो पूर्ण क्षमता देखाउने तयारी गरेको भए पनि इजरायली आक्रमणका कारण सबथोक बदलिएको छ । मैले फुटबल नछोएको पनि तीन महिना भइसक्यो,' इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा स्पेनिस क्लब बार्सिलोनालाई मन पराउने खलिद मोहम्मदले थपे ।
विगत तीन महिनायता भने खलिद मोहम्मद अल-अक्सा शहिद अस्पतालमा स्वयंसेवक चिकित्सकको रूपमा काम गरिरहेका छन् । उनी हप्तामा ७२ घण्टासम्म काम गर्छन् ।
आफ्ना मान्छेको माया तथा चिकित्साप्रतिको लगावका कारण अस्पतालमा काम गर्न थालेको बताउने खलिद मोहम्मदका अनुसार अहिले गाजाका मानिसका लागि उनको आवश्यकता छ ।
उनले सन् २०१९ देखि चिकित्सा विज्ञान पढ्न थालेको अल-अझार विश्वविद्यालय भने अहिले भग्नावशेषमा परिणत भइसकेको छ ।
'म पढ्नका लागि अस्पतालमा हुनुपर्थ्यो तर कथा परिवर्तन भइसकेको छ । अहिले म पीडाका कारण भुईँमा छटपटाइरहेका तथा रोइरहेकाहरूको हेरचाहमा समर्पित छु,' उनी थप्छन् ।
(अल-जजिराका अबुबकर अबेदको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)
ताप्लेजुङ गोल्डकपः चर्च ब्वाइज फाइनलमा

फुटबल खेलाडी प्रीति राई जोर्डनको एतिहाद क्लबमा अनुबन्धित हुँदै

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

प्रतिक्रिया