टी-ट्वान्टी विश्वकप : नेपालका लागि बंगलादेशलाई पराजित गर्ने अर्को सुनौलो अवसर

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजले आगामी जुनमा संयुक्त रुपमा आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप आयोजना गर्दैछ । जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाल समूह 'डी' मा परेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् ।
समूह 'ए' मा भारत, पाकिस्तान, अमेरिका, क्यानाडा र आयरल्यान्ड छन् । समूह 'बी' मा भने इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान तथा समूह 'सी'मा न्यूजिल्यान्ड, अफगानिस्तान, युगान्डा, पपुवा न्यूगिनी र वेस्ट इन्डिज छन् ।
समूह चरणअन्तर्गत नेपालले दुई खेल अमेरिका र दुई खेल वेस्ट इन्डिजमा खेल्ने तालिका रहेको छ । नेपालले पहिलो खेल अमेरिकामा नेदरल्यान्ड्सविरुद्ध जुन ४ तथा दोस्रो खेल श्रीलंकाविरुद्ध जुन ११ मा खेल्नेछ ।
त्यसपछि वेस्ट इन्डिजमा तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन १४ तथा समूह चरणको अन्तिम तथा चौँथोँ खेल बंगलादेशविरुद्ध जुन १६ मा खेल्ने तालिका रहेको छ ।
खासमा नेपाल रहेको समूहमा तीन टेस्ट राष्ट्रहरू दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । तीमध्ये बंगलादेश र श्रीलंका भने दक्षिण एसियाली मुलुक हुन् । तर नेपालले श्रीलंकासँग खेल्ने अवसर पाएको छैन । नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भने दक्षिण अफ्रिकाविरुद्ध पनि खेलेको इतिहास छैन ।
नेपालले केवल एकपटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा बंगलादेशसँग खेल्ने अवसर पाएको छ । सन् २०१४ मा नेपालले पहिलोपटक आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागिता जनाउँदा आयोजकको रुपमा रहेको बंगलादेशको सामना गरेको थियो ।
तर उक्त खेलमा बंगलादेशले नेपाललाई ८ विकेटले निराश तुल्याएको थियो । नेपाल क्रिकेट संघ (क्यान) का वर्तमान सचिव पारस खड्काको कप्तानीमा रहेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन जोडेपनि बंगलादेशले १ सय २७ रनको लक्ष्य १५ ओभर ३ बलमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो ।
उक्त खेलमा नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन तथा शरद भेषावकरले ४० रन बनाएका थिए ।
तर सन् २०१४ मा बंगलादेशविरुद्ध खेलेको नेपाली टिमका केवल एक सदस्यले मात्र यसपटक विश्वकप खेल्ने र बंगलादेशविरुद्ध पुनः मैदानमा उत्रने अवसर पाउने सम्भावना रहेको छ । सन् २०१४ मा बंगलादेशविरुद्ध खेलेका सोमपाल कामीले मात्र यस वर्षको विश्वकप खेल्ने सम्भावना रहेको छ ।
सन् २०१४ मा नेपालले विश्वकपमा बंगलादेशको सामना गर्दा नेपालसामू ठूला देशविरुद्ध खेल्ने खासै अनुभव थिएन ।
तर अहिलेको अवस्था भने फरक रहेको छ । नेपालले टी-ट्वान्टी तथा एकदिवसीयमा विश्वका ठूला तथा अनुभवी टिमसँग खेल्ने अवसर पाउँदै आएको छ भने खेलाडीहरूले क्षमता पनि विकास गरिरहेका छन् ।
चीनमा गत अक्टोबरमा भएको १९औँ एसियन गेम्समा पनि नेपालले भारतविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थियो र भारतलाई पराजित गर्ने अवस्थासम्म पुगेको थियो ।
क्वार्टरफाइनल खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाउँदा केवल २३ रनले पछि परेको थियो ।
भारतविरुद्ध दिपेन्द्र सिंह ऐरीले १५ बलमै ३२ रन तथा सन्दीप जोराले १२ बलमै २९ रन बनाएका थिए । दिपेन्द्रले ४ छक्का हिर्काउँदा सन्दीपले १ चौका र ३ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले भारतविरुद्ध २ विकेटसमेत हात पारेका थिए ।
गत वर्ष नै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै शीर्ष वरियताका टिमसँग अनुभव साट्ने अवसर पनि पाएको थियो । त्यसअघि पनि वेस्ट इन्डिज, जिम्बाब्वे र आयरल्यान्ड जस्ता टिमसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो ।
पछिल्लो समय पाएको अवसर र अनुभवका कारण यस वर्षको विश्वकपमा नेपालले अप्रत्याशित नतिजा निकाल्ने सम्भावना पनि प्रवल छ । र बंगलादेशसँग यसअघि पनि खेलिसकेका कारण बंगलादेशलाई नेपालले स्तब्ध तुल्याउन सक्ने सम्भावना पनि बलियो छ ।
अर्कोतर्फ बंगलादेशले भने पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन । सन् २०२१ को टी-ट्वान्टी विश्वकपमै एसोसियट राष्ट्र स्कटल्यान्डले बंगलादेशलाई ६ रनले पराजित गरेको थियो ।
१९औँ एसियन गेम्सको क्वार्टरफाइनल खेलमा लगभग हारिसकेको अवस्थालाई उल्टाउँदै बंगलादेशले एसोसियट राष्ट्र मलेसियालाई २ रनको झिनो अन्तरले पराजित गरेको थियो ।
त्यसैगरी गत वर्ष नै भारतमा भएको एकदिवसीय क्रिकेट विश्वकपमा एसोसियट राष्ट्र नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले पाखा लगाएको थियो ।
जसका कारण मैदानमा उत्रदा बंगलादेशले भने नेपाललाई कमजोर आँक्ने छैन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि विश्वकपमा नेपाल र बंगलादेशबीचको खेल महत्वपूर्ण हुने उल्लेख गरेको छ ।
आईसीसीले उल्लेख गरेअनुसार पछिल्लो समय नेपाल र बंगलादेशबीचको स्तरमा खासै अन्तर नरहेको तथा नेपालको युवा खेलाडीहरूसँग बंगलादेशलाई स्तब्ध तुल्याउने अवसर रहेको छ ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया