बिरामीले भरिए बुटवलका कोभिड अस्पताल
बाटोमै जान थाल्यो ज्यान

बुटवलः लुम्बिनी प्रदेशका कोरोना संक्रमितले अस्पतालमा वेड पाउनै मुश्किल भएको छ । लक्षणसहितका सक्रमितले उपचारका लागि भौतारिंदै ज्यान गुमाउन थालेका छन् । धमाधम संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुनेको संख्या पनि बढेको छ । तर बिरामीले अस्पतालको आईसियुको खोजी गर्दै हिड्दा बाटोमै ज्यान गुमाएका छन् ।
घटना १
- अर्घाखाँचीको भुमिकास्थान ९ का ७३ वर्षीय पुरुषमा २९ असोजमा कोराना पुष्टि भयो । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । अन्य रोगले समेत ग्रस्त रहेका उनलाई तत्काल आइसियू आवश्यक पर्यो । तर बुटवल/भैरहवाका कोभिड अस्पतालमा एउटा पनि आईसीयू खाली नभएपछि उपचारमा अन्योल श्रृजना भयो । परिवारले आईसियूको प्रबन्ध गर्ने बेलासम्मका लागि भन्दै विरामीलाई होम आइसोलेसनमा भैरहवामा लगेर राखे । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले थप उपचारका लागि दाङको बेलझुण्डी लैजान सल्लाह दिइयो । तर विरामीको त्यही दिन दिउसो ४ बजे घरवाट पुन अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।
घटना २
- रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिला २४ असोजमा उपचारका लागि लम्बिनी प्रदेशिक अस्पतालमा पुगिन् । त्यही दिन कोरोना परिक्षणपछि उनमा कोरोना संक्रमण देखियो । अब उनलाई आइसीयूसहितको उपचार बेडको आवश्यकता पर्यो । अस्पतालले आफूकहाँ बेड नभएकोले अन्यत्र लैजान सुझाव दियो । जताततै हारगुहार गरे तर बेड नपाएपछि रातारात दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल पुर्याए । अस्पताल पुर्याएपनि विहानै अस्पतालले निधन भएको घोषण गर्यो ।
घटना ३
- पाल्पाको तानसेन नगरपालिका-७ का ५२ वर्षीय कोरोना संक्रमित विरामी उपचारका लागि एम्बुलेन्समार्फत् बुटवल आए । पाल्पाको मिसन अस्पतालले उनलाई आईसीयूसहितको कोभिड अस्पतालका लागि भन्दै बुटवल रिफर गरेको थियो । तर बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा उनले उपचार गर्न पाएनन् । कारण एउटै थियो वेड अभाव । आफन्तले दिनभरि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, धागो कारखानाको कोरोना विशेष अस्पताल, बुटवलकै मुटु अस्पतालदेखि भैरहवाको भिम अस्पतालमा पुर्याए र उपचारका लागि यचना गरे तर कसैले भर्ना लिएन । त्यसपछि त्यही दिन राति पुनः पाल्पाकै बृद्धा आश्रमको आइसोलेसनमा लगेर राखे । त्यसको २ दिन पछि १ असोजमै उनको मृत्यु भयो ।
घटना प्रतिनिधिमुलक हुन् । झण्डै एक महिनादेखि यस क्षेत्रका अस्पतालहरुमा उपचारका लागि वेडको चरम अभाव छ । तर यस्तो संवेदनशील विषयमा सरकारको बेवास्था देखिन्छ । बिरामी बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगे पनि प्रदेश सरकारका लागि भने यो विषय प्राथमिकतामा परेको देखिदैन । ‘धन सम्पत्ति हुने र ठूला बडाले महँगा निजी अस्पतालहरुमा लगेर उपचार गरेका छन् । सर्वसाधारण बाटोमै मर्न पर्ने अवस्था आयो’ मानव अधिकार तथा शान्ति समाजका उपसभापति गोविन्द खनाल भन्छन् । यस्तो संवेदनशील विषयमा सरकारको पटक्कै ध्यान नपुग्नु दुःखद विषय भएको उनको भनाई छ ।
२० करोड सकियो
कोरोना संक्रमितको उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेश सरकारले १२ जिल्लाका लागि ७ वटा भेन्टिलेटर थपेको छ । रुपन्देहीका दुई तथा बाँके र दाङका एक/एक गरी ४ वटा अस्पतालमा ३४ बेडको आइसीयू संचालन गरिएको छ । देशभर लक्षणसहितका तथा गम्भीर अवस्थाका संक्रमित थपिँदै गर्दा आइसोलेसनसँगै आइसियू र भेन्टिलेटर अभाव भइरहेको छ । तर प्रदेश सरकारले आइसीयू र भेन्टिलेटर थप गर्नेतर्फ कुनै तयारी गरेको छैन ।
गत चैत १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जका ४ वटा अस्पतालमा भेन्टिलेटर र आइसीयू सहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको थियो । सोही अनुसार आइसोलेसन अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिएको थियो । बजेट बिनियोजन भए पनि लकडाउनलाई कारण देखाउँदै भेन्टिलेटर खरिद गरिएन ।
बुटवल धागो कारखानास्थित आइसोलेसन अस्पताललाई गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सापटीको रुपमा चार वटा भेन्टिलेटर र ८ वटा आइसीयू वेड उपलब्ध गराएपछि सेवा शुरु गरिएको थियो । तर गम्भीर अवस्थाका कोरोना संक्रमित थपिँदै जाँदा समेत आइसीयू र भेन्टिलेटर खरिद गर्नेतर्फ अस्पताल र सरकारले समेत चासो दिएका छैनन् । मुटु अस्पतालले सापटीमा दिएको आफ्नो उपकरण मागे पनि सुनुवाई भएको छैन ।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले कोरोना संक्रमणपछि सरकारले चारवटा अस्पतालमा १२ वटा भेन्टिलेटरसहित ३४ बेडको आइसीयू संचालन गरेको बताए । तर यस्तो पूर्वाधारले १२ जिल्ला त के एउटै जिल्लाका सक्रमित बिरामीलाई पनि नथेग्ने अवस्था आएको एक चिकित्सकले बताए ।
संक्रमण फैलिएको सात महिना पुग्दा पनि अस्पतालले पूर्वाधार निमार्णमा पर्याप्त ध्यान नदिएको ती चिकित्सकको भनाइ छ । लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरेटेण्डेन्ट डा. राजेन्द्र खनालले निकै थोरै आईसीयू र भेन्टिलेटर भएकोले आफू विरामी भएर आईसीयू चाहिने अवस्था आएपनि घरमै सबै प्रबन्ध गरेको बताए । घरमै अक्सिजनदेखि चिकित्सकहरुको निगरानीमा बसेको उनको भनाइ छ । उनी सक्रमणपछि भर्खरै मात्र काममा फर्किएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ५ बेडको आईसीयूमा यसअघिकै जम्मा २ वटा मात्रै भेन्टिलेटर छन् । भैरहवास्थित भीम अस्पतालमा पनि एउटा भेन्टिलेटरसहित ५ बेडको आइसीयू र २२ वेडको आइसोलेसन मात्रै संचालनमा छ ।
साविक लुम्बिनी अञ्चलका ६ जिल्लाको साथै प्यूठान र पूर्वी नवलपरासीका गम्भीर संक्रमित उपचारका लागि आउने रुपन्देहीमा प्रदेश सरकारले एउटा मात्रै भेन्टिलेटर उपलब्ध गराएको छ । नेपालगञ्जको भेरी अस्पतालमा एउटा भेन्टिलेटर र ८ बेडको आइसीयूसहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा छ । प्रदेश सरकारले यसअघि कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गरेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका आइसियू र भेन्टिलेटर भेरी अस्पतालमा सारिएको हो ।
त्यस्तै दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेटरसहितको आइसीयू बेड संचालनमा छ । प्रदेश सरकारले चैत महिनामा नै दुईवटा भेन्टिलेटर, ५ बेडको आइसीयू कक्ष संचालन गरेपनि जनशक्ति अभाव हुँदा आइसीयू संचालन हुन सकेको थिएन । विगत एक महिनादेखि भने संघीय सरकारले जनशक्तिको व्यवस्था गरेपछि राप्ती प्रादेशिक अस्पतालबाट समेत तीन वटा भेन्टिलेटर थपेर पाँच वटा संचालनमा आएको अस्पतालका कोरोना फोकल पर्सन डा. प्रवेश शर्माले जानकारी दिए ।
- तथ्याङकमा लुम्बिनी प्रदेश
जम्म कोरोना संक्रमित- १४४५४
निको भएको संख्या- १०६५१
सक्रिय सक्रमित- ३३९४
अस्पताल पुगेको सक्रमित- ३४४
सरकारी अस्पतालको आईसीयू- ३४
भेन्टिलेटर संख्या- १२
मृत्यु- ११४
पर्याप्त आइसीयू र भेन्टिलेटर नहुँदा गम्भिर अवस्थाका कोरोना संक्रमितलाई आइसोलेसनमै राखेर उपचार गर्न बाध्य भएको चिकित्सकहरु बताउँछन् । भैरहवाको भिम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले ५ वेडको आईसीयू भएपनि ३६ जनाको उपचार गर्न बाध्य भएको बताए । उनले गम्भीर अवस्थाका विरामीका लागि समस्या भैरहेको गुनासो गर्दै जबरजस्ती विरामी छाडेर जाने गरेको उनको दुखेसो छ ।
बुटवल कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा थप आइसोलेसनका लागि पनि स्रोत साधनको अभाव भइरहेको बताउँछन् । गम्भीर अवस्थाका संक्रमितको चाप बढ्दै गएपनि प्रदेशका अस्पतालमा पूर्वाधार र उपकरण थपिएका छैनन् । रुपन्देहीमा भेन्टिलेटर अभाव भएपछि बाहिरका जिल्लामा लैजाँदै गर्दा संक्रमितहरुको बाटोमै मृत्यु हुने गरेको छ । डा. थापाका अनुसार, बुटवलमा बनाएको आइसीयूमा हालसम्म करिब १ सय ६८ जनाले उपचार लिएका छन् भने अहिले पनि ४९ जना कोरोना संक्रमितले उपचार सेवा लिइरहेका छन् । यो अस्पतालमा कोरोना पुष्टि भएका ४४ जनाको मृत्यु भइसकेको छ ।
सरकारको प्राथमिकतामै परेन
कोरोनाले जनताको अवस्था भयावह हुँदै गर्दा सरकार चाहिं प्रदेश राजधानी सार्ने खेलतिर लाग्यो । विरामीहरुले उपचार नपाएर मर्ने अवस्थामा पुग्दा शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारले राजधानी दाङको भालवाङ सार्ने प्रस्ताव अघि बढायो । जुन प्रस्ताव दुई तिहाई बहुमतले पास पनि भयो ।
त्यो प्रस्तावसँग सडकमा उत्रिएका रुपन्देहीका आन्दोलनकारीहरुको भिडभाडले कोरोना संक्रमण व्यापक भयो । सदनमा पक्ष-प्रतिपक्षको रस्साकस्सीले सभामुख मन्त्रीदेखि सांसदहरु सक्रमित बन्न पुगे । यो घटनाले सरकारको प्राथमिकता सक्रमण उपचार भन्दा पनि राजधानी सार्न महामारीका बेला अनुकूल समय खोजेको देखिएको आरोप लागेको छ ।
पछिल्लो १० दिनमा रुपन्देहीको सक्रिय सक्रमितको संख्या दोब्बर भएको छ । सदनदेखि सडकको भिडभाड र आन्दोलनले सक्रमणको दर बढाउको हुन सक्ने प्रादेशिक अस्पतालका डा सुदर्शन थापाले बताए । उनले भने, ‘पछिल्लो १० दिनमा कोरोना सक्रमित दर बढेको छ, यसका अन्य कारण पनि हुन सक्छन् । तर मुख्य कारण भिडभाड, नाराजुलस, आन्दोलन नै हो ।’

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया