मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

मधेशी समुदायमा ‘भैयादुज जमाभुर्की’ पूजन

खजुरा (बाँके)- पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन अर्थात् यम द्वितीयाका दिन आज ‘भैयादुज जमाभुर्की’ पूजन गरी आ–आफ्नो दाजुभाइलाई टीका लगाइ चिउरा, भुर्की र मिठाइ खुवाएका छन् । यस पर्वमा घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जङ्गलको चित्र बनाएर जङ्गलमा पाइने कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाई त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रूपमा भुर्की पूजन गर्दछन् । त्यस क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा सुनाउने गरिएको अगुवा महिला रेखादेवी शर्माले बताइन् । 

भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ-आफ्नो दाजुभाइको सुख, शान्ति, उन्नति, सु–स्वास्थ्य, प्रगतिलगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधि साहित्यकार विष्णुलाल कुमालले बताए । आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटीकाको मुख्य साइतमा भुर्की पूजनको कार्य गरिएको छ । 

दाजुभाइको सुख, शान्ति, उन्नत्ति, र दीर्घायुका लागि भुर्की पूजा गरी टीका लगाएको नेपालगञ्ज–६ का रागिनी साहुले बताइन् । रासस