जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार गम्भीर छैन : सरोकारवालाहरू

काठमाडौँ- जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत विज्ञ तथा सरोकारवालाले सरकार जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नमा गम्भीर रूपमा नलागेको गुनासो गरेका छन् ।
आइतबार न्युज एजेन्सी नेपालले गरेको संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवालसम्बन्धी कार्यक्रममा बोल्दै उनीहरूले जलवायु परिवर्तनको विषय विकास, राजनीति र कूटनीतिको संगम भए पनि सरकारले यसलाई गम्भीर रूपमा लिन नसकेको बताएका हुन् । कार्यक्रममा बोल्दै युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले नेपाल जस्तो देशले कुनै गल्ती नगरेको भए पनि जलवायु परिवर्तनको असर भोग्नुपरेको बताए ।
उनले यसको क्षति न्यूनीकरण गर्नका लागि सरकार गम्भीर रूपले लाग्नुपर्ने धारणा राखे । उनले विश्वका ठूला मुलुकले गरेको कार्वन उत्सर्जनका कारण नेपालको पर्वतीय श्रृङ्खलाहरूले जोखिम र क्षति बेहोर्नु परेको उल्लेख गर्दै त्यसको हानी नोक्सानीको परिपुरण ठूला देशहरूले नै बेहोर्नुपर्ने बताए । नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सानो तयारीले नपुग्ने उनकाे भनाइ छ ।
सरकारले महासचिव गुटेरेसको प्रतिबद्धतालाई निरन्तर अनुगमन गर्न आवश्यक रहेको जिकिर गरे । महासचिव गुटेरेसले नेपालको हिमालको विषयमा आगामी जलवायु सम्मेलनमा बोल्न सक्ने भएकोले नेपालले आफ्नो पाेजिसन पेपरमा यो विषय स्पष्ट राख्नुपर्ने बताए ।
यस्तै, अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा जलवायु परिवर्तनसम्बन्धी क्षेत्रका जानकार डा. अर्जुन कार्कीले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभाव तथा खेती प्रणाली र अन्नपात उब्जनीमा परिरहेको प्रभावकै बारेमा आवाज उठाउनुपर्ने धारणा राखे । उनले जलवायु परिवर्तनको विषय राजनीतिक, विकास र कूटनीतिको संगम भएको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिवले नेपालले जलवायु परिवर्तनका कारण हानी र नोक्सानी बेहोरिरहेको उल्लेख गरेको भन्दै सो विषय आगामी नोभेम्बरमा हुने कोप २८ मा उठ्ने विश्वास पनि व्यक्त गरे ।
यस्तैगरी, जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका जलवायु तथा वातावरणविद उगान मानन्धरले जलवायु परिवर्तनसम्बन्धी स्पष्ट नीति भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले नेपाल सरकारले जलवायु परिवर्तनको विषयलाई मुख्य बनाएर काम गर्न नसकेको बताए । अझै पनि विश्वका ठूला राष्ट्रहरूले जलवायु परिवर्तनलाई विषय नै बनाउन तयार नरहेको भन्दै उनले यसबाट नेपालले भोग्नुपरेको हानी नोक्सानीलाई मुख्य प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।
मानन्धरले महासचिव गुटेरेसले नेपालको पक्षमा आवाज उठाइदिएकाले सजिलो भएको भए पनि अन्तर्राष्ट्रिय सहायता आउने क्रम कम हुँदा जलवायुको विषय अझै ओझेलमा पर्न सक्ने बताए । उनले यस विषयमा डोनर एजेन्सीहरूले केही काम गरेको भए पनि सरकारी तहबाट राम्रो काम हुन नसकेको बताए ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया