अमेरिका पुगेर परराष्ट्रमन्त्री साउदले मागे पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा सहयोग

वासिङटन डिसी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन् । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उनको भनाइ थियो ।
वासिङटन डिसीमा‘युनाइटेड स्टेटस इन्स्टिच्युट फर पिस’द्वारा मङ्गलबार आयोजित नेपालको वैदेशिक नीतिको परिदृश्य विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले उक्त धारणा राखेका हुन् ।
उनले भने 'नेपाल दुई ठूला र शक्तिशाली तथा द्रुतगतिले विश्व अर्थतन्त्रमा अगाडि बढिरहेका देश भारत र चीनको बीचमा भएकाले दुवैसँग मित्रवत सम्बन्ध कायम गर्दै अगाडि बढिरहेको छ ।' उनले साथै सार्वभौम, समानता, पारस्परिक सम्मान, सहकार्यका साथ एकअर्काको संवेदनशीलता र भावनालाई सम्मान गर्दै अगाडि बढेको बताए ।
मन्त्री साउदले नेपालको राजनीतिक प्रक्रियाले दिगोपन हासिल गर्दै गएकाले अब आर्थिक विषयलाई केन्द्रमा राखेर सोहीअनुसार नेपालको कूटनीति परिचालित हुने बताए ।
प्रजातान्त्रिक अभ्यासका आधारशिलामा नागरिकले प्रजातान्त्रिक समाज र स्वतन्त्रतामार्फत आवधिक निर्वाचनलाई अङ्गीकार गर्दै अगाडि बढेको उनको भनाइ थियो ।
'हामीहरूसँग प्रजातान्त्रिक संस्था र संरचना क्रियाशील छन्, यसको कारणले महिलाको राजनीतिमा उच्चस्तरको सहभागिता सम्भव भएको छ । नेपालको संविधानको भावनाअनुसार राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भइसक्नुभएको छ भने सङ्घीय संसद, प्रदेश सभामा ३३ प्रतिशत महिलाको व्यवस्था गरेका छौँ' उनले भने 'हामीहरूको नागरिकको ठूलो हिस्सा देश बाहिर पनि रहेकाले उनीहरूको अधिकार संरक्षण र प्रोत्साहन गर्दै उनीहरूलाई मातृभूमिसँग जोड्ने कुरामा केन्द्रित रहेको छ ।'
मन्त्री साउदले नेपाल–अमेरिकाको सम्बन्ध ७६ वर्ष लामो र बलियो सम्बन्ध भएको राजनीतिक, आर्थिक विकास, सांस्कृति, शैक्षिकलगायतमा उल्लेखनीय साझेदारको रूपमा काम गर्दै आएको बताए । दुई देशबीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र नागरिकको सशक्तीकरणको मूल्य, मान्यतामा आधारित रहेको स्मरण गर्दै उनले अमेरिका नेपालको महत्त्वपूर्ण र ठूलो विकास साझेदार भएकाले त्यसको प्रभावकारिता नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा देखिएको उल्लेख गरे ।
नेपाल र अमेरिकाले विश्वका साझा चुनौतीमा बहुराष्ट्रिय फोरमहरूमा रचनात्मक ढङ्गले काम गरेको उल्लेख गर्दै मन्त्री साउदले नेपालले अमेरिकाबाट वैदेशिक प्रत्यक्ष लगानी, व्यापार विस्तार, पर्यटनको सम्वर्द्धन र प्रविधि रुपान्तरणमा थप सहयोग र साझेदारीको अपेक्षा गरेको बताए ।
युएसआइपीकी दक्षिण एसियाली निर्देशक तमन्ना शालीकुडिनले सञ्चालन गरेको कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनलगायत दूतावासका अधिकारीलगायत प्रवुद्ध समूहको सहभागिता थियो । रासस

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया