इजरायल आक्रमण : आफन्तको पिरले परिवारमा पीडा

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका-२ का नीलकण्ठ भण्डारी बेलाबेलामा मोबाइलतिर नजर लगाइरहन्छन् । शनिबार रातिदेखि उनको दिनचर्या मोबाइल स्क्रोल गरेरै बितेको छ । उनको मनमा रत्ति भर चैन छैन । अनेक कुरा खेलिरहन्छन् । कारण हो–प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा इजरायल आक्रमण ।
आक्रमणमा नेपालीहरू पनि परेका छन् । विशेष गरी कृषि सिक्न र कमाउन गएका विद्यार्थी यसको मारमा परेका हुन् । इजरायल पुगेकाहरूको आफन्त यो बेला झनै पीडामा छन् । सोही छटपटाहट बढेको हो ४५ वर्षीय नीलकण्ठलाई पनि । उनका छोरा सुजन यतिखेर इजरायल छन् । आक्रमण चपेटामा सुजन अनि अरु नेपाली नपरुन् भनी सुजनका हजुरबुवा, आमा र बहिनीले पनि प्रार्थना गरिरहेका छन् । सुजन आफैँले पनि ‘हामी सुरक्षित छौं, नआत्तिनुस्’ भनी थमथमराइरहेका छन् ।
तर, आक्रमणको खबर यत्रतत्र भइरहँदा परिवारमा चैन छैन । सुजन एक महिनाअघि मात्र कृषिमा इन्टर्नका लागि इजरायल पुगेका थिए । कृषि वन विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरुन्चौरमा चार वर्षे अध्ययन सकेर उनीसँगै अरु विद्यार्थी त्यहाँ पुगेका हुन् । उनीहरू यतिखेर युद्धको चपेटामा परेपछि तिनका परिवारजन, आफन्त र शुभचिन्तकको मन आत्तिनु स्वाभाविक हो ।
सोमबार दिउँसोतिर फेसबुकमा छोराको अपडेट आयो । जसमा सुजनले सरकारलाई लेखेको पत्र थियो । पत्रमा सुजनले सरकारलाई छिटो उद्धारका लागि आह्वान गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन अनुनय विनय गरेका हुन् ।
उनले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमा नै रमाउने छौं ।’ सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको ‘सास रोकिएको’ उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् ।
छोराका यो पत्र देखेपछि उनी झनै आत्तिए । फोन गरेर नआत्तिन आग्रह गरे पनि छोराले आफूहरूलाई सान्त्वना दिन त्यसो भनेको नीलकण्ठले बुझेका छन् । ‘जति बेला पनि फोन गर्न नपाइने भएर हो या गाह्रो भएर हो, थाहा भएन । घरिघरि फोन गर्छ,’ उनले भने ।
उद्धारमा नेपाल सरकारको ढिलासुस्तीप्रति आक्रोश पोखे । अरु देशले आफ्नो देशका नागरिक फिर्ता लगिसक्दा पनि नेपाल सरकारले ढिला गरेकोमा उनको दुखेसो थियो । ‘छोरा उता आत्तिएको होला हामी यता परिवार नै त्रसित छौं । हामीले कहाँ गएर कसलाई भन्ने ठाउँ पनि भेटिएको छैन । त्यही पालिका अनि वडा कार्यालय र मिडियालाई छिटो ल्याउन भनेको मात्र हो,’ उनले भने, ‘यस्तो कुरामा सरकार नै तातिनुपर्ने हो । अरु देशले आफ्ना नागरिक लगिसक्यो भन्ने सुनेका छौं ।’
अन्नपूर्ण २ का वडाध्यक्ष पिताम्बर भण्डारीले सुजनका परिवारले वडा कार्यालयमा गुनासो गरिरहेकाले सरकारसँग युद्धको चपेटामा परेका नेपालीलाई नेपाल फर्काउन आग्रह गरिएको बताए । ‘सुजनको परिवार हाम्रो सम्पर्कमा हुनुहुन्छ । अनि सुजनसँग पनि फोन र म्यासेज भएको थियो,’ वडाध्यक्षले भण्डारीले भने, ‘सुजन लगायत युद्धको चपेटामा परेकाहरूको उद्धारमा हामीले सरकारलाई भनिरहेका छौं । यसमा मिडियाले पनि साथ दिनुपर्छ ।’
इजरायलमा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया