सुदूरपश्चिमको एकमात्र उपलब्धी : गेटा मेडिकल कलेज

धनगढी : देशमा गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिमवासीका अपेक्षा धेरै थिए । एकात्मक सत्ताको दृष्टि नपुगेको सुदूरपश्चिमले संघीयताको कार्यान्वयनसंगै मुहार फेर्ने आसा बोकेको थियो । वर्षाैदेखि चर्चामा रहेका तर सुरुवात समेत नभएका आयोजनाको निर्माण हुने अपेक्षा थियो ।
तर पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर, चिसापानी कर्णाली, सेती लोकमार्ग, महाकाली करिडोर, धनगढी दीपायल द्रुत मार्ग, सुख्खा बन्दरगाह, औद्योगीक क्षेत्र लगायतका योजना अहिले पनि ओझेलमै छन् । अधिकाशं आयोजनाको निर्माण समेत सुरु भएको छैन भने निर्माण सुरु भएका आयोजना पनि वषौदेखि अलपत्र छन् ।
पञ्चायती व्यवस्थादेखि नै सुदूरपश्चिममा मेडिकल कलेज निर्माण हुने चर्चा थियो । तर गणतन्त्र स्थापना हुन अघिसम्म भने मेडिकल कलेजको निर्माणबारे अन्यौलता नै थियो । २०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेपछि प्रदेशवासीमा खुसीको सञ्चार भयो ।
तर वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्नुपर्ने र वनले वर्षाैसम्म सहमति नदिएपछि मेडिकल कलेज निर्माणको प्रक्रिया पनि अगाडि बढेन । वातावरणीय प्रभाव मूल्यांकन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै मेडिकल कलेजको पूर्वाधार निर्माण सुरु भयो । २०७१ मै भवन निर्माणका लागि शिलान्यास भएकोमा ०७३ सालदेखि नै भौतिक संरचनाको निर्माणले तिव्रता पायो । अहिले मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेको छ ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भौतिक प्रगति ८० प्रतिशत पुग्नै लागेको बताए । उनका अनुसार प्रशासनिक भवनको काम ९० प्रतिशत सकिएको छ ।
‘साढे पाँचतले अस्पताल भवनको पनि ९० प्रतिशत काम सम्पन्न भएको छ । अस्पताल भवनको दोस्रोपटक थप गरिएको समय आगामी पुसमा सकिँदै छ,’ उनले भने, ‘चिकित्सक, नर्सिङ र कर्मचारी आवासगृहका आठवटा भवनको काम पनि भइरहेको छ । कलेज भवनको निर्माण भने सम्पन्न भएको छ ।’ उनका अनुसार अहिले थप आवासगृहका भवन, कम्पाउण्ड वालको निर्माण भइरहेको छ भने फोहोर व्यवस्थापनका लागि पनि प्रक्रिया अगाडि बढेको छ ।
साउँदले आगामी चैत महिनाभित्रै भौतिक निर्माण सम्पन्न हुने जानकारी दिए । गेटामा रहेको ५१ दशमलव आठ हेक्टर क्षेत्रमा स्थापना भइरहेको मेडिकल कलेजमा एमबीबीएस अध्यापनसंगै ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा तीन अर्ब ८० करोड खर्च भइरहेको छ ।
भौतिक प्रगति उत्साहजनक भए पनि अहिलेसम्म सञ्चालनको ढाँचा भने तय भएको छैन् । कतिपयले मेडिकल कलेज नै हुनुपर्ने बताएका छन् भने कतिपयले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने अडान लिएका छन् । कार्यकारी निर्देशक साउदले भने, ‘ढाँचाको टुङ्गो नलागे पनि सुरुमा अस्पताल सञ्चालन गर्न निर्देशन भएपछि अहिले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण छनोट गर्न चिकित्सकको टोलीलाई जिम्मा दिइएको छ । उक्त टोलीले उपकरण छनोट गरेपछि खरिदको प्रक्रिया अगाडि बढ्नेछ । अर्को वर्षको सुरुवातमा अस्पताल सञ्चालन गर्ने तयारी छ ।’
शिक्षा मन्त्रालयले एकीकृत प्रतिष्ठान विधेयक ड्राफ्ट गरी सैद्धान्तिक सहमतिका लागि पठाइएको छ । तर मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रतिनिधिसभामा छलफलका लागि भने जान सकेको छैन् । अब हिउदे अधिवेशन सञ्चालन भएपछि उक्त विधेयक अगाडि बढ्ने छ।
पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भत्तवहादुर बलायरले गेटा मेडिकल कलेजको सञ्चालनको प्रारुप छिटो तय गर्नुपर्ने बताए । उनले भने, ‘गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिमको एकमात्र उपलब्धी भनेकै गेटा मेडिकल कलेज हो । यसको प्रारुप छिट्टै तयार गर्नुपर्छ ।’

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया