शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कर्णालीको रैथाने उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णालीले अब मूल्यवान् बस्तुहरुको बजारीकरण गर्ने बताएका छन् । 

कर्णालीमा पोषणयुक्त खाद्यान्न उत्पादन पनि हुने र कुपोषणबाट बालवालिका ख्याउटे पुड्का पनि हुने तथ्याङ्कको गलत परिभाषा सच्याउन आवश्यक भएको शर्माले जिकिर गरेका छन् । जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सवमा सहभागी हुन हुम्ला पुग्नु भएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्ला शाखाले आयोजना गरेको  पत्रकार सम्मेलनमा कर्णालीको रैथाने उत्पादनलाइ अन्तराष्ट्रिय स्तरमा  पुर्‍याउन प्रदेश सरकार तयार रहेको बताए ।

मन्त्री शर्माले कर्णालीका  हिमाली क्षेत्रका कृषि उपज र बजारीकरणको  समायोजन हुने बताएका हुन् ।‘कोदो खानेलाइ गरिव भनिन्छ नेपालमा गरिवीको संख्या पनि बढ्दो छ तर गरिवी हुने कारण उत्पादन बस्तुलाइ मुल्यमा परिवर्तन नगर्दा समस्या भएको हो’  मन्त्री शर्माले भने, ‘कर्णाली जे  बेच्छ  मुल्यवान बस्तु नै बेच्छ भन्ने तथ्य प्रमाणित गर्न मुल्यवान लोगो निर्माण गरि कर्णालीको रैथाने उत्पादनलाइ अन्तराष्ट्रिय स्तरमा प्रदेश सरकार बजारीकरण गर्न तयार रहेको छ ।’ 

उनले कर्णाली प्रदेशमा भएको रैथाने बाली उत्पादनमा संरक्षण र बजारीकरण गर्न प्रदेश सरकारले कृषि उपज उत्पादन र बजारिकरणको लागि समायोजन नीति अनुरुप काम गर्ने बताए ।

दक्षिण एसियाको भारत पछि कोदो उत्पादनमा दोस्रो मुलुक नेपाल भएकोले कोदो, लठ्ठे, जुनेलो, चिनो र कागुनो उत्पादनलाइ लेवलिङ्ग र प्याकेजिङ्ग गरी अन्तराष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकार उत्पादन र ढुवानीमा अनुदान दिने प्रतिवद्ध भएको बताए । उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा चौरी मुसे भेडा कार्यक्रम र हुम्लाको तल्नो भूगोल क्षेत्रमा सुन्तला कागती र फलफुल कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले पकेट क्षेत्र विकास कार्यक्रमवाट उत्पादन बढाउने बताए । हुम्ला जिल्लाको ७ वटा पालिकामा १ हजार ३५य हेक्टर क्षेत्रफल जमिनमा कोदो खेतीबाट वार्षिक १ हजार ५४० मेट्रिकटन उत्पादन हुँदै आएको छ ।