नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

काठमाडौँ - नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालिसौँ संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ ।
आउँदो असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा हुने उक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जानकारी दिएको छ ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरुका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।
भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भोलि अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ ।
यसैबीच संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्ससाइज कम्ब्रेइन पट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको पनि निर्देशनालयले जनाएको छ । रासस

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया