प्रतिनिधिसभा बैठक : शून्य समयमा सांसदहरू के भने ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बाल्दै प्रतिनिधिसभा सदस्य अर्यालले सरकारले श्रमिकहरूको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताएका हुन् । उनले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने जिकिर गरे । उनले पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने बताए ।
उनले भने, ‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौँ भने पक्कैपनि राम्रो सन्देस जाँदैन । उद्योग, व्यवसाय प्रवर्द्धन गर्नु र श्रमिकका हक, हीतमा पनि काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगि, व्यवसायीले खुशी खुशी बढेको पारिश्रमिक लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ ।’
प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी ८ वर्षअघि टिकापुरमा थारूहरूको आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन भएको भए पनि थारूहरू जेल जिवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरूलाई जेलमुक्त गर्न माग गरे । उनले थारूहरूमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारूहरू पुनः जुर्मुराउनसक्ने बताए ।
उनले भने, ‘आज भाद्र ७ गते टिकापुर घटनाको ८ वर्ष भयो । अहिले धेरै थारूहरू जेल जीवन बिताइराखेको छ । केही थारूहरू देश बाहिर र देशमा लुकिछिपि बसिराखेको हुनाले उनहरूलाई छोड्दिन मैले जोडदार माग गर्न चाहन्छु । थारू आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो । आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि आन्दोलन भएको थियो । त्यसैकारणले थारूहरूलाई राज्यबाट दमन र विभेद भएको छ । यसको अन्तिम विकल्पको रुपमा थारूहरू फेरि जुर्मुराउन सक्छ । त्यसकारण म आग्रह गर्न चाहन्छु छिटोभन्दा छिटो थारूहरूलाई जेलमुक्त गरिदिनु ।’
प्रतिनिधिसभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पस सञ्चालकहरू आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘शिक्षा क्षेत्र आज आन्दोलित छ । आज माईतीघर मण्डलामा १३ औँ दिन भयो चिकित्सा शिक्षा र प्राविधिक शिक्षा सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पसका सञ्चालकहरू त्यहाँ आन्दोलित छन् । सरकार बेखबर जस्तै बनेको छ । म आग्रह गर्न चाहान्छु, तुरुन्तै यो विषयमा छलफल चलाइ यसलाई टुंगोमा पुर्याउनका लागि चिकित्सा शिक्षा र सिटिइभिटीमा देखिएका समस्या समाधान गर्नुपर्छ ।’
प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे ।
उनले भने, ‘भक्तपुरमा सञ्चालित न्युनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे ।
प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका २२ नदीहरूलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडी बढाउनुपर्ने बताए । उनले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे । उनले शुल्क वृद्धि अस्वभाविक भएको बताए ।
प्रतिनिधिसभा सदस्य पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगले चलिरहेको भन्दै यसलाई सुधार गर्नका लागि शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया