शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

अन्ततः एमालेले चिसै पानीले नुहायो

सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय आयोग नै बन्नुपर्ने माग राख्दै एमालेले झन्डै एक महिनादेखि अवरुद्ध गर्दै आएको संसदको बैठक आजबाट सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन टुंग्याएपछि उच्चस्तरीय जाँचबुझ आयोगले पनि छानबिन गर्ने भन्दै सहमति भयो । अर्थात् एमाले अन्ततः चिसै पानीले नुहाउने भयो । सीआईबीको छानबिन रोकेर राजनीतिक दलका प्रतिनिधि सामेल भएको उच्चस्तरीय समिति बनाउने एमालेको दाउ पूरा हुन सकेन । अब एमालेले जनतालाई जवाफ दिनुपर्छ कि केका लागि एक महिनासम्म संसद अवरुद्ध गरेको भनेर । एमालेको माग त सरकारी संयन्त्रले गरेको अनुसन्धान निष्पक्ष हुँदैन भनेको थियो । सीआईबीले नै छानबिन टुंग्याउने र त्यसलाई पछि मात्र उच्चस्तरीय जाँचबुझ आयोगले हेर्ने भन्नुको कुनै अर्थ छैन ।

विगतमा पनि ठूला ठूला काण्डका संसदीय छानबिन नभएका होइनन् । तर यसरी राजनीतिक चरित्रको छानबिन समिति बनाउनुको अर्थ चोख्याउने र थन्क्याउने मात्र हो । वाइडबडी घोटालामा संसदीय छानबिन नभएको होइन । लेखा समितिले मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेर नपठाएको होइन । खै त कहाँ गयो त्यो प्रतिवेदन ? अर्थात् जनतालाई मूर्ख बनाउन र ढाकछोप गर्ने मनसाय मात्र रहेको पुष्टि हुन्छ ।

सीआईबीले छानबिन गर्नु भनेको स्थापित ऐन, कानुन, विधिअनुसार नै हो । दुःखको कुरो त छानबिन गर्दागर्दै प्रहरी अधिकृतहरूको सरुवा हुन्छ । समस्या दलका टाउके नेताहरूमा छ । समस्या कानुनमा छैन । प्रहरीमा छैन । प्रहरीलाई स्वायत्त छाड्ने हो भने यिनै नेताहरू पनि धमाधम पक्राउ पर्छन् । गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणको छानबिन गर्न सीआईबीलाई स्वतन्त्र छाडिदिउन् त । ऐन संशोधन गरेर, मन्त्रिपरिषदबाट निर्णय गराएर जग्गा सट्टापट्टामा को को संलग्न छन् ती सबैको मुखुण्डो उत्रिन्छ । अनि राजनीतिक लेनादेनीमा कुराकानी नमिल्दा मात्र तर्साउनका लागि ‘गिरिबन्धुको जग्गा प्रकरण छानबिन गरिदिउँ ?’ भनेर तर्साउने, बार्गेनिङ गर्ने र ‘साइज’ मा ल्याउने काम हुन्छ । जबकि सरकार ढल्नु चार दिनअघि मात्रै मन्त्रिपरिषदबाट निर्णय गराउनेदेखि दुई तिहाईको सरकारले संसदबाट ऐन नै संशोधन गराउने कार्यको नेतृत्व केपी ओलीले गरेका थिए । राजाले कू गर्नुअघि नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धुको ५१ बिघा जमिन फुत्काएका थिए । नेपाली कांग्रेसका सभापति र एमालेका अध्यक्ष नै प्रत्यक्ष संलग्न भएको गिरिबन्धू जग्गा प्रकरणको छानबिन होला भनेर पत्याउने ठाउँ छैन ।

गिरिबन्धुको जग्गा प्रकरण एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताका आफ्ना मान्छेलाई कसरी चोख्याए, ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई प्रतिवादी नबनाईकन छड्के किनाराका साक्षी कसरी बनाए, ३३ किलो सु्नको नाइकेलाई कसरी उम्काए ? ओम्नी प्रकरण कसरी सेलाए ? यति जग्गा काण्ड पनि ऐन संशोधन गरी गरी कसरी मच्चाए ? यी यावत कुरा स्मरण गर्ने हो भने गिरिबन्धु जग्गा प्रकरण छानबिन नहोस् र सुनकाण्डमा सुनपानी छर्कन पाइयोस् भन्ने ध्येय लुकेको कसैबाट छिपेको छैन । अर्थात् देशै बेचेर भए पनि यिनलाई पैसा, धन चाहिएको छ । पैसाकै लागि हिजो अधिकांश प्रमुख दल मिलेर महाकाली बेचेकै हो । सरकारी कलकारखाना निजीकरणका नाममा बेचेकै हो । यिनीहरूको यो इतिहास हेर्ने हो भने पानीमाथिको ओभाने हुने कुचेष्टा मात्र हो ।

मुलुक, नागरिक र मुलुकको आर्थिक विकासलगायत आमसरोकारका विषयलाई पूर्ण रुपमा उपेक्षा गरेर संसद अवरुद्ध गर्नु भनेको यो व्यवस्थाप्रति नै एमालेले अपनत्व नलिएको प्रष्ट हुन्छ । २०४६ सालदेखि हालसम्म एमालेले मात्र कुल २५२ दिन संसद अवरुद्ध गरेको रेकर्ड छ । ती सबै अवरोधमा अधिकांशमा एमाले चिसै पानीले नुहाएको छ । अनि केका लागि अवरुद्ध गरेको र केका लागि खुलाएको उसैलाई थाहा हुँदैन । संसद अवरुद्ध गर्ने, दैनिक भत्ताचाहिं खाने । के यही हो नैतिकता ? हिजो चुनावका बेला जनताका सामु के के वाचा गरेर आएका थिए यी नेताहरूले ? यो चाहिं यिनका मतदाताले पनि बिर्सने गर्छन् र पटक–पटक यस्तै नालायकहरू ‘जननिर्वाचित’ भएर आउँछन् । यस्ता कुराचाहिं केवल चुनाव आउन आउन लाग्दा मात्र उठ्ने गर्छन् । त्यसपछि सेलाउँछ ।