बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अडियो प्रकरणमा मलाई र देउवाजीलाई डिस्टर्ब गर्ने काम भयाे : आरजु राणा

जनकपुरधाम- नेपाली कांग्रेसकी नेतृ प्रतिनिधि सभा सदस्य आरजु राणाले विपक्षी पार्टीहरूले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र शेरबहादुर देउवालाई  डिस्टर्ब गर्ने काम गरेको बताएकी छिन् ।​ मंगलबार जनकपुरधाममा पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा पार्टी सभापति देउवा पत्नी समेत राणाले यस्ताे बताएकी हुन् । 

'भुटानी शरणार्थी सम्बन्धित त्यस्ता धेरै अडियोहरू रहेछ तर त्यो एक मात्र अडियो जसमा मेरो नाम पनि नियोजित रूपमा लिएको रहेछ त्यसलाई प्रोपगाण्डा बनाएर राजनीतिक तनाव दिनका लागि त्यो मिडियाबाजी र सामाजिक सञ्जालमा भाइरल बनाइएको हो,' उनको तर्क थियो ।

राणाले प्रेस युनियनसहित कांग्रेसका युवा पुस्तालाई प्रविधि सक्रिय बनाई मिडिया र सामाजिक सञ्जालमा पार्टीको गतिविधि बढाउन नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरिन् । राणाले भनिन्, ‘६० कटेका साथीहरूसँग सम्भव पनि छैन, त्यसैले प्रेस युनियन र युवा नेता कार्यकर्ताहरूलाई बरु यन्त्रहरू सहयोग गरेरै भए पनि सामाजिक सञ्जालमा पहुँच बढाउनु पर्छ ।’

राजनीतिक प्रसंगको चर्चा गर्दै राणाले देशमा देखिएका नयाँ पार्टीहरूसंग केही पनि नरहेको त्यै पनि उनीहरू चुनाव जित्दा आफूलाई आश्चर्य लागेको समेत बताइन् । उनले मर्ने र मार्ने बेलामा पनि देशमा एक मात्र पार्टी कांग्रेस नै रहेको स्मरण गर्दै कांग्रेसको लगानी र योगदान मिडिया र सामाजिक सञ्जालमा बढाउन आग्रह गरिन् । 

कार्यक्रममा कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले कांग्रेस एक्लै चुनावहरू नलडुञ्जेलसम्म संगठन निर्माण असम्भव रहेको बताए । युस्तै पार्टी मधेशका उपसभापति तथा मन्त्री विरेन्द्रप्रसाद सिंह, प्रतिनिधि सभा सदस्य रामहरी खतिवडा, प्रदेश सांसद शेषनारायण यादव, कुमरकान्त झासहित प्रदेश सांसद, विभिन्न जिल्लाका पार्टी सभापति, पालिकाका मेयरहरूसहित नेताकार्यक्रताहरूको उपस्थिति रहेकाे थियो ।