मधेश सरकारले अघिल्लाे वर्षभन्दा ११ अर्ब घटी बजेट ल्याउँदै

जनकपुरधाम- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि मधेश प्रदेश सरकारले ३५ अर्ब बराबरको बजेट ल्याउने भएको छ ।
अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि सो रकम बराबरको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । सचिव भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए ।
सचिव भट्टराईका अनुसार चालू आर्थिक वर्षभन्दा ११ अर्ब घटी बजेट ल्याउन लागेको हो । मधेश प्रदेश सरकारले चालु २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाखको बजेट ल्याएको थियो । अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा रहेको र संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घटाउनु परेको उनले बताए ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको उनले जानकारी दिए । उनले चालू आर्थिक वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने जानकारी दिए ।
गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा १८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यस्तै, २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया