आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

समानुपातिक बजेट वितरण गर्न सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरूले प्रधानमन्त्री, सत्ता गठबन्धनका शीर्ष नेता र अर्थमन्त्रीका गृह जिल्लामा बढी बजेट केन्द्रित गरिएको तर्क गरेका थिए । 

उत्पादनमूलक अर्थतन्त्रलाई ध्यान दिँदै समग्र विकास केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनीहरूले विद्यमान आर्थिक सङ्कटको मोचन गर्ने बाटोमा बजेट लक्षित नभएको टिप्पणी गरे । छलफलमा सांसद देवप्रसाद तिमिल्सिना, दामोदार भण्डारी हृदयराम थानी, पूर्णबहादुर तामाङ, देवीप्रसाद भट्टचन, तेजुलाल चौधरी, चन्द्रबहादुर विश्वकर्मा, सुशीला थिङ, सराद अहमद फारुकी, सरिता भुसाल, हर्कमाया बिक, प्रेमबहादुर महर्जन, महेशकुमार बर्ताैलाले भाग लिएका थिए ।

प्रतिनिधिसभाको आगामी बैठकमा पनि सो बजेटमाथिको छलफल जारी रहनेछ । उक्त छलफल र अर्थमन्त्रीले जवाफ दिनका लागि जेठ २८ गतेको समय थप गरिएको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराए । आजको बैठकमा संविधानसभामा मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत तत्कालीन सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २८ गते आइतबार बिहान ११ बजे बस्नेछ ।