ओमानबाट अक्सिजन सिलिन्डर केही बेरमा आइपुग्ने

काठमाडौँ : कोभिड-१९ को महामारीसँग जुधिरहेका नेपालका लागि खाडी मुलुक ओमानबाट पाँच सय ६० अक्सिजन सिलिन्डर केही घण्टामा काठमाडौँ आइपुग्दै छन् । नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँ रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपालीप्रति सद्भाव राख्ने विदेशी तथा नेपालीसँगको सहयोगमा अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाइएको जानकारी दिइन् ।
ओमानले पनि बाहिरबाट खरिद गरेर ल्याएको भए पनि नेपाललाई आवश्यक परेको भनेपछि सिलिन्डर उपलब्ध गराएका हुन् । उक्त सामग्री नेपाल एयरलायन्सको विमानमार्फत अहिले केही बेरमा काठमाडौँ आइपुग्दैछ । ‘नेपालमा यस्तो अवस्था देखिएपछि आफूले जुम बैठकहरू राख्ने र सहकार्य गर्ने कार्य गर्दै आएको पनि उनले बताइन ।
मन्त्रालयबाट पनि निर्देशन आएपछि सहयोग जुटाउन ओमानमा रहेका नेपाली समुदायसँग छलफल गरेर प्रक्रिया अघि बढाइएको उनले बताइन । ‘सबै मिलेर सहयोग जुटाएका हौं । केहि घण्टामा अक्सिजन सिलिन्डरहरू काठमाडौँ पुग्नेछन्,’ राजदूत ढकालले सिलिन्डर पठाएपछि विमानस्थलबाटै टेलिफोनमा भनिन्, 'हामी सक्रिय रूपमा नै लागेका छौँ । थप सहयोगको पहल गर्दैछु । '
त्यस्तै थाइल्यान्डबाट पनि शुक्रबार २४ अक्सिजन सिलिन्डर नेपाललाई सहयोग स्वरुप आइपुगेको छ । कोभिडको दोस्रो लहरका कारण मुलुकमा अक्सिजन ग्यास सिलिन्डरसहित अन्य अत्याआवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेको थियो । आरम्भमा परराष्ट्र मन्त्रालय खासै गतिसिल देखिएको थिएन । तर, लगातार लेख र समाचार आएपछि मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्था अनुसार सहयोग जुटाउन पहल गर्न निर्देशन दिएको थियो ।
विश्वका विभिन्न ३० मुलुकमा दुतावास र तीन सहरमा राष्ट्र संघीय स्थायी नियोग (न्यूयोर्क, जेनेभा, भियना) र ६ सहरमा वाणिज्य दूतावासलाई सम्बन्धित मुलुकको अवस्था अनुसार सहयोग गर्न लिखित पत्राचार परराष्ट्र केही दिन अघि गरेको हो ।
त्यसलगत्तै यूरोपेली महासंघ (ईयू) ले पनि २० लाख यूरो बराबरको आपत्तकालीन मानवीय सहयोग गर्ने तीन दिनअघि जनाइसकेको छ । बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ भ्याक्सिन तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनो फार्मका पदाधिकारीहरूसँग छलफल गर्दै खोप सहजिकरण गराउन पहल गरेका छन् । नेपालका लागि चीनले २० लाखसम्म भेरोसेल खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी उनले दिए । अन्य सामग्री पनि केही आएका र केही रहेका उनले बताए ।
अमेरिकाबाट इन्डो प्यासिफिक कमाण्ड अन्तर्गत सहयोग आउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले छिटै ठूलो परिणामको सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तराष्ट्रिय सञ्चार माध्यममार्फत सहयोगको याचना गरेका थिए ।
गैर आवासिय नेपाली संगठन (एनआरएनए) का अध्यक्ष कुमार पन्तले पनि नेपालको लागि सहयोग गर्न सबै नेटवर्कमा पहल गरिरहेको र दूतावासमार्फत सहयोग जुटेको बताए । ओमानबाट आउन लागेको सहयोगमा पनि राजदूत ढकालले एनआरएनए लगायतको सहयोग भन्दै पन्तलाई धन्यवाद दिनुले एनआरएनए पनि यसमा उत्तिकै सक्रिय रहेको देखिन्छ ।
नेपालका विकास साझेदारहरूलाई पनि सहयोगको लागि अपिल गर्न राजदूतावासहरूलाई परराष्ट्रले पत्र नै पठाएर भनेको छ । नेपालमा रहेका विदेशी विकास साझेदार र अन्य सहयोगी संस्थाहरूले पनि नेपालको यो संकटमा सहयोग गर्ने बताइरहेका छन् । तर कतिपय राजदूतले यसमा खासै सक्रियता देखाएका छैनन् । उनीहरूका लागि राजदूत पद आराम गर्न विदेश आए झैँ परेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया