कोभिड-१९सँगै यसपटक नेपालले दोहोरो विपत्ति बेहोर्ने
यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन, तयार रहन विज्ञको सुझाव

काठमाडौँ : यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।
ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङसहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । उनका अनुसार चट्याङले भने मानवीय क्षतिसमेत गराइरहेको छ । यही वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा पनि गए राति र आज बिहान पानी परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्काे प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।
हाल नेपालमा बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ । यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । उक्त प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिसकेको छ । गत वर्ष सरदर पानी पर्ने भनिए पनि वर्षाका कारण ठूलो जनधनको क्षति पुगेको थियो । यसपालि भने सददरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी अपनाउनुपर्नेमा पोखरेल जोड दिन्छन् । गत वर्ष पहिरो गएको क्षेत्र र भूकम्पले जोखिम बनाएको क्षेत्र बढी जोखिममा छ । त्यस्ता ठाउँमा सानो पानी पर्दैमा बाढी पहिरोको सम्भावना अधिक हुने भएकाले मनसुनमा बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् बरुण पौडेल बताउँछन् ।
हुन त अहिले मनसुन शुरु भएको छैन । मनसुन सुरुपछिको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।
उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने आकलन गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिए । त्यसैले अहिलेदेखि नै क्षति कम गर्नका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसपालि कोभिड–१९ को समेत जोखिम बढ्दो क्रममा रहेकाले अझै मुलुक दोहोरो विपत्बाट गुज्रने अवस्था रहेको देखिन्छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया