बेनी–जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

म्याग्दी - म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समय तालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवत जावत बन्द गरेर निर्माण गरिने जानकारी दिए ।
यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो । पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।
निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनको लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ ।
एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवत जावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत पर्वतको मालढुङ्गा देखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भैरहेको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया