प्रतिपक्षविहीन कर्णाली सरकार

सुर्खेत- कर्णाली प्रदेशसभा प्रतिपक्षविहीन बनेको छ । गएको शुक्रबार कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राजकुमार शर्मालाई प्रतिपक्षमा बसेको कांग्रेसले पनि समर्थन गरेसँगै प्रदेशसभा प्रतिपक्षविहीन बनेको हाे ।
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय राजनीतिक समीकरण फेरिएसँगै गत फागुन १८ गते सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत लिएका हुन् । शर्मालाई राप्रपाका एक सांसद बाहेक सबै सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा एमालेका नौ, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका र स्वतन्त्र एक–एक गरी ३८ जना सांसदको समर्थन प्राप्त भएको छ ।
संघीय सरकारबाट बाहिरिएको नेकपा एमाले कर्णाली प्रदेश सरकारका सन्दर्भमा लचिलो देखिएको छ । कर्णालीमा माओवादी र एमालेले नयाँ सन्देश दिन खोजेको एकथरीको विश्लेषण भइरहेको छ भने अर्कोथरीले सत्ता स्वार्थले अझ अस्थिरता बढ्ने संकेत भनिरहेको छ ।
एमालेका प्रदेश अध्यक्ष एवं कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिन आवश्यक नरहेको बताएका छन् । आफूहरू सरकारमै रहेकाले विश्वासको मत दिनु स्वाभाविक भएको शाहको भनाइ छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रतिपक्षविहीन सरकार निरंकुश हुने बताउँछन् । कुनै न कुनै दल प्रतिपक्षमा बस्नुपर्ने उनकाे भनाइ छ । अब कसरी अगाडि बढ्ने भन्ने कुरा माओवादीमा भर पर्ने उनले बताए । ‘अब उहाँहरूको कुरा छ, हाम्रो कुरा केही छैन,’ शाहीले भने, ‘कुनै सर्त राखेर हामीले विश्वासको मत दिएको होइन । उहाँहरूले के देख्नुहुन्छ, माथि केन्द्रका नेताहरूले के भन्छन् त्यसैमा भर पर्छ ।’
मंसिर ४ मा सम्पन्न संघ तथा प्रदेशसभा निर्वाचनका दौरानमा हुम्ला पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शाहीलाई मुख्यमन्त्री बनाउने उद्घोष गरेका थिए । शीर्ष नेताहरूको वचन पाएका शाहीले पछिल्लो समय सरकारमा आफ्नो पनि दाबी रहने अभिव्यक्तिहरू दिँदै आएका छन् ।
यता कर्णाली सरकारका प्रवक्ता रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसी कर्णालीमा सबै दल मिलेर अघि बढ्नुपर्ने बताउँछन् । सरकारमा जानका लागि विश्वासको मत दिएकाले मिलीजुली सरकार निर्माण गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले हिजो विश्वासको मत माग्दाखेरि पनि सहमतिकै आधारमा जाऔं भनेका थियौं । त्यसमा हामी सहमति जुटाउन सफल भएका छौं,’ जिसीले भने, ‘मोटामोटी एक खालको खाका बन्ने चरणमा छ । मलाई लाग्छ हाम्रा समृद्ध कर्णालीका साझा एजेण्डाहरू सबै दलका साझा हुनुपर्छ ।’
उनले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं भन्ने एमालेको भनाइ सकारात्मक भएको बताए । केन्द्रकै भर पर्न नहुने र प्रदेशलाई स्वायत्त रूपमा सञ्चालन गर्न दिनुपर्ने पक्षमा माओवादी समेत रहेको छ । यदि एमालेले समर्थन फिर्ता लिएमा संसद्को ठूलो दल कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ त ? भन्ने प्रश्नमा जिसी भन्छन्, ‘निर्वाचनको समयमा कांग्रेसलाई नै मुख्यमन्त्री दिने भन्ने लिखित सहमति नभएको र भनेकै आधारमा माओवादीले मुख्यमन्त्री नछाड्ने बरु आलोपालोको सहमतिमा हामी लचक छौं ।’

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया