आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत पाएका छन् । माघ ६ गते पहिलोपटक विश्वासको मत पाएका शर्माले आज संसद्‍बाट पुनः विश्वासको मत प्राप्त गरेका हुन् ।

उतिबेला विश्वासको मत प्राप्त गर्दा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका मुख्यमन्त्री शर्मा दोश्रो पटक आज विश्वासको मत लिँदा प्रदेश सभाको ९५ प्रतिशत मत प्राप्त गर्न सफल भएका छन् । उनलाई सदनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एस, र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

उनको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिएकी थिइन् । ४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज कूल ३९ जनाको सहभागिता रहेको थियो । उनको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्र परेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् ।

अब सदनको अर्को बैठक चैत १९ गते बस्ने भएको छ ।