राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्चिममा जोगियो कांग्रेस सरकार

कैलाली- केन्द्रमा फेरिएको समीकरणले सुदूरपश्चिमको कांग्रेस सरकार जोगिने भएको छ । मुख्यमन्त्री नियुक्त भएको आधा महिना बितिसक्दा विश्वासको मत पाउने आधार नपाइरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने भएका छन् । केन्द्रमा शुक्रबार बनेको नयाँ राजनीतिक समीकरणका कारण शाहको सरकार जोगिने निश्चित भएको हो ।
मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय समीकरणमा कांग्रेस बाहिर रहे पनि संविधानको धारा १६८ को ३ अनुसार सुदूरपश्चिममा शाह मुख्यमन्त्रीमा नियुक्त भए । तर, एमाले र माओवादीको गठबन्धनका कारण विश्वासको मत नपाउने विश्लेषण भइरहेका बेला अन्ततः उनी सुरक्षित भएका छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९ र माओवादीका सभामुख सहित ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि कांग्रेसको सरकार जोगिन्छ । तर, माओवादीले विश्वासको मत दिने भन्ने निर्णय भने गरिसकेको छैन ।
गत पुस २७ मा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएपछि माघ २६ मा रावलले राजीनामा दिए । त्यसपछि मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनि अहिलेसम्म विश्वासको मत लिएका छैनन् । आगामी २५ गतेभित्रै उनको विश्वासको मत लिइसक्नु पर्नेछ । शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णय गरेसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठ दलीय गठबन्धन बनेको छ ।
नयाँ आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन् ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया