भारतको नयाँ नीतिले बिजुली निर्यात नहुने खतरा

सरकारको अकर्मण्यताका कारण वर्षायाममा स्वदेशमा उत्पादित सबै बिजुली खपत भएन/हुँदैन । खेर फाल्नुभन्दा भारतमा बेच्नु जाति भन्ने सिद्धान्तले नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बेच्ने प्रयास गर्दै आइरहेको छ । गत जूनदेखि प्राधिकरणले ११ अर्ब १६ करोड रूपैयाँको बिजुली भारतलाई बेच्यो । नेपालले गरेको प्रस्ताव स्वीकार गरेमा अबको पाँच वर्षभित्र करिब ७० अर्ब रूपैयाँको बिजुली भारतमा निकासी हुने सम्भावना थियो । तर, भारतको विद्युत् मन्त्रालयले गत डिसेम्बर २ मा एउटा आदेश जारी गर्यो । त्यो आदेश थियो— अन्तरराज्य प्रसारण प्रणाली (आईएसटीएस) मा लाग्दै आएको प्रसारण शुल्क हटाउने ।
त्यस्तो शुल्क एक युनिट बिजुलीमा अवस्था हेरी ३५ देखि ५० पैसा (भारु) सम्म लाग्दै आएको थियो । भारतले आफ्नो देशभित्र उत्पादन हुने जलविद्युतको हकमा मात्र यो नियम लागू गरेको हो । यो नीतिगत आदेशले अब नेपालको बिजुली भारतीय बजारमा महँगो पर्ने भयो भने भारतीय जलविद्युत् सस्तो । यसले गर्दा आगामी दिनमा नेपालले निर्यात गर्ने बिजुली प्रभावित हुने चिन्ता बढेको छ ।
भारतले सन् २०२१ को जनवरी २९ तारिख अर्काे नीति लागू गर्यो । भारतका विद्युत् वितरक कम्पनी अनिवार्य रूपमा सौर्य र जलविद्युत् खरिद गर्नैपर्ने आदेश जारी गर्यो । देशमा खपत हुने कुल विद्युत् ऊर्जाको निश्चित प्रतिशत अनिवार्य रूपमा जलविद्युत् हुनै पर्ने व्यवस्था लागू गर्यो । यसमा नेपालको जलविद्युत् परेन । अनिवार्य रूपमा जलविद्युत् खरिद (एचपीओ) नीतिमा नेपालको जलविद्युत् पनि समेटिएको भए त्यसले भारतीय ऊर्जा बजारमा नेपालको बिजुलीको ढोका उघ्रिन्थ्यो । भारतले सन् २०२१–२२ देखि सन् २०२९–३० सम्मका लागि विभिन्न दरमा एचपीओ लागू गरेको छ ।
सन् २०२९–३० मा देशमा खपत हुने कुल विद्युत् ऊर्जाको २.८२ प्रतिशत हुनैपर्ने व्यवस्था छ । भारत ऊर्जा खपतमा विश्वकै तेस्रो नम्बरमा पर्छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको प्रतिवेदनअनुसार सन् २०२१–२२ मा भारतमा १३ खर्ब ७४ अर्ब युनिट बिजुली खपत भएको थियो । यस आधारमा हेर्दा भारतले सन् २०२९–३० मा ३८ अर्ब ७४ करोड युनिट बिजुली अनिवार्य रूपमा जलविद्युतकै खपत गरेको हुनुपर्नेछ । यो भनेको नेपालमा गत वर्ष खपत भएको बिजुलीभन्दा ४.१३ गुणा बढी हो । गत वर्ष नेपाल विद्युत् प्राधिकरणले ९ अर्ब ३६ करोड युनिट बिजुली बेचेको थियो ।
भारतले सन् २०३० सम्ममा ५ लाख मेगावाट गैरतापीय (अर्थात् नवीकरणीय) ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्न र नवीकरणीय ऊर्जा उत्पादन र खपतलाई बढावा दिन भारतले एचपीओ र आईएसटीएस नीति लागू गरेको हो । यस्ता नीतिमा नेपालको जलविद्युत् समावेश नहुनुले नेपालको कूटनीति अक्षम रहेको प्रमाणित हुन्छ । परराष्ट्र र ऊर्जा मन्त्रालय यसमा चुकेकै हो । परराष्ट्र मन्त्रालयलाई ऊर्जाका विषयमा त्यति चासो हुँदैन । ऊर्जामा केही नबुझेको माओवादी मन्त्री डेढ वर्षसम्म बसिन् । त्यसमाथि सचिव पनि ऊर्जाबारे जानिफकार नभई सिँचाइतर्फका परे । नेपाल विद्युत् प्राधिकरणको एकल प्रयासले दुई देशको सम्बन्ध (लेनादेना) मा प्रभाव पर्ने कुरा भएन । यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक भाषणमै ‘के गर्नु, भारतले नेपालको बिजुली लिँदैन’ भने । न परराष्ट्र मन्त्रालय, न ऊर्जा, न त प्रधानमन्त्री कार्यालय यस्ता रणनीतिक विषयमा कहिल्यै पनि गम्भीर बनेनन् ।
निश्चय पनि भारतमा बिजुलीको माग छ । बजार पनि छ । तर, ऊ नेपालको बिजुली ‘लत्रक्क परेर’ लिन चाहँदैन । विद्युतमा ४ लाख ९ हजार मेगावाट जडित रहेको भारतका लागि नेपालको एक, दुई हजार मेगावाट बिजुली हात्तीको मुखमा जीरा सरह हो । यद्यपि जलवायु परिवर्तन सम्मेलन (कोप २६ र कोप २७) मा भारतले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न, बढ्दो ऊर्जाको माग सम्बोधन गर्न उसलाई नवीकरणीय ऊर्जामा नगई हुँदैन । भारतको सबै विद्युत् माग नेपालले आपूर्ति गर्न नसक्ला । तर, उसका एकाध राज्यको माग भने अवश्य सम्बोधन गर्न सक्छ । विश्वव्यापी रूपमा घट्दै गइरहेको कोइला उत्पादन र यसको बढिरहेको बजार भाउका कारण भारतलाई नवीकरणीय ऊर्जामा जान दबाब परेको हो । उसको कूल ऊर्जा उत्पादनमा कोइला, डिजेल, ग्यास, लिग्नाइट गरी ५७.९ प्रतिशत हिस्सा छ । तापीय ऊर्जाको मात्रा नघटाई भारतलाई सुखै छैन । त्यही भएर एक राज्यबाट उत्पादन भएको बिजुली अर्काे राज्यमा पुर्याउँदा उसले लिँदै आएको प्रसारण शुल्क (ह्विलिङ चार्ज) मिन्हा गरेको हो ।
भारतको प्रतिस्पर्धी बजारमा एक युनिट बिजुलीमा एक पैसाले पनि धेरै ठूलो फरक पार्छ । त्यसमाथि पचास पैसा (भारु) हट्नु भनेको एक युनिटमा ८० पैसा कम हुनु हो । यो व्यवस्थाले गर्दा आगामी वर्षायाममा नेपालले भारतीय ऊर्जा विनिमय (आईईएक्स) मा आफ्नो सहज प्रवेश पाउन सक्ने अवस्था छैन । किनभने भारतमै उत्पादन भएको बिजुलीको भाउ सस्तो पर्ने र नेपालको महँगो पर्न जाने हुन्छ । नेपालमा बिजुली उत्पादन लागत त्यसै पनि महँगो भइरहेका बेला भारतको यस्तो नीतिले झन् महँगो तुल्याएको छ । भारतले एक महिनाअघि यस्तो नीति लागू गरिसक्दा नेपालमा भने यसबारे सरकारी स्तरमा कुनै चर्चा भएको समेत सुनिँदैन ।
गएको वर्षायाममा नेपालले करिब ३ सय मेगावाट बिजुली टेण्डर गरी भारतीय बजारमा बेच्न खोज्दा त्यहाँका सबै ऊर्जा आपूर्तिकर्ता कम्पनीहरूले ‘सिण्डिकेट’ (मिलेमतो) गरी मूल्य हाले । जुन भाउ भारतीय ऊर्जा विनिमयभन्दा पनि कम थियो । प्राधिकरणलाई त्यही ऊर्जा विनिमयमै बेच्दा फाइदा हुने भयो र टेण्डर नै रद्द गरिदियो । ऊर्जा विनिमयको औसत मूल्यभन्दा झन्डै आधामा उनीहरूले प्रस्ताव गरे । यसको ठीक उल्टो यही डिसेम्बरदेखि भारतबाट बिजुली आयात गर्नुपर्ने स्थितिलाई ध्यानमा राखी प्राधिकरणले सुख्खायाम अघि नै भारतबाट आयात गरिने बिजुलीको टेण्डर गरे । त्यसमा पनि भारतीय सरकारी कम्पनीहरूले सरसल्लाह गरी मिलेमतोमा भारतीय ऊर्जा विनिमयको औसत मूल्यभन्दा दोब्बर प्रस्ताव गरे ।
नेपालले बेच्न खोज्दा सस्तोमा प्रस्ताव हाल्ने, किन्न खोज्दा महँगोमा । प्रतिस्पर्धा गराएको कुनै अर्थै भएन । यसको मतलब नेपालको बिजुलीप्रति भारत ‘रणनीतिक’ बनेको छर्लंग छ । यही कुरामा नेपालका प्रधानमन्त्री, ऊर्जा मन्त्री वा परराष्ट्र मन्त्रीहरूलाई मतलब छैन ।
ऊर्जा सचिव वा प्राधिकरणको कार्यकारी निर्देशक तहमा यो विषय (एचपीओ र आईएसटीएस) सल्टनेवाला छैन । यो विषय नेपालले प्रधानमन्त्री तहमा उठाउनुपर्छ । आगामी जनवरीको अन्तिम साता हुने प्रस्ताव गरिएको ऊर्जा सचिव तथा सहसचिव स्तरीय बैठक (जेडब्लूजी र जेएससी) मा यो विषय उठाइए पनि भारत त्यति सकारात्मक हुने छाँट छैन । होइन, सचिव स्तरीय बैठकमा भारत सहमत भयो भने त्यो उपलब्धि हुनेछ । तर, कूटनीतिक र उच्च राजनीतिक तहमा यसको छलफल गरी भारतीय बजार सुरक्षित गर्नु नेपालको हितमा छ । नेपालले यस्तो नीति अख्तियार गरेर भारतीय बिजुलीलाई समावेश नगरेको भए नेपालमाथि ठूलो दबाब पर्ने थियो र नीति लागू हुनेबित्तिकै परिवर्तन भइहाल्थ्यो— केपी ओली प्रधानमन्त्री हुँदा भारतीय विषादी मिश्रित तरकारी आयातमा प्रतिबन्ध लगाउने निर्णय क्षणभर टिक्न नसकेझैं ।
सरकारी स्तर (मन्त्रालय वा प्राधिकरण) मा विद्युत् व्यापारमा गरिएका प्रयास भारतीय नियतका कारण प्रभावकारी हुन सकेन । नेपालका निजी क्षेत्रले भारतका निजी क्षेत्रसँग मिलेर विद्युत् व्यापार गर्न खोज्दा कहिले संसद्ले, कहिले ऊर्जा मन्त्रीले रोक्ने, कहिले राष्ट्रपतिले रोक्ने काम भयो । संसद्ले नयाँ विद्युत् विधेयक कहिल्यै पारित गरेन । सयौं संशोधन प्रस्ताव परे, छलफलसमेत भएन । बिजुलीको व्यापार गर्न मन्त्रिपरिषद्ले अनुमति दिनुपर्थ्याे, त्यो कहिल्यै भएन । बरू तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले प्राधिकरणले गर्दै आएको विद्युत् व्यापार खोसेर विशाल ग्रूपलाई दिन तम्से । मन्त्रिपरिषद्ले अन्य कम्पनीलाई अनुमति दिएन । कानुन नभएको देखाएर । संसद्को अधिवेशन नभएका बखत सरकारले निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने गरी अध्यादेश जारी गराउन खोज्यो, राष्ट्रपतिले रोकिन् । कारण थियो, उक्त अध्यादेश जारी भयो भने त्यसको जश तत्कालीन गठबन्धनलाई जान्थ्यो । राष्ट्र आर्थिक रूपले सम्पन्न हुने विषयमा समेत राष्ट्रपतिले राजनीति गरिन् । कम्तीमा त्यो अध्यादेश जारी भइदिएको भए निजी क्षेत्र जसरी पनि भारतको निजी क्षेत्रलाई बिजुली बेच्न पाउँथे ।
अर्काेतर्फ, प्राधिकरण वा निजी क्षेत्रले बनाएको प्रसारण लाइन अर्काे कुनै कम्पनीले उपयोग गरेमा त्यसको मूल्य कति हुने भनेर प्रसारण शुल्क तोक्ने काम हो विद्युत् नियमन आयोगको । आयोग स्थापनाको उद्देश्य नै प्रसारण शुल्क तोक्ने, ग्रीड कोड लागू गर्ने आदि थियो । तर, आयोगले हकप्रद शेयर जारी गर्ने अनुमति दिँदा च्याँखे थाप्ने, उसका केही पदाधिकारीलाई ‘खुशी नपारे’ अनुमति नै नदिने गर्दै आयो । बिजुली निर्यातजस्तो राष्ट्रियता जोडिएको, मुलुकको आर्थिक समृद्धि गाँसिएको विषयमा उदासीन रह्यो । अर्थात् जे गर्न संस्था खडा गरिएको थियो, त्यसविपरीत कार्य गर्दै आइरहेको छ । यसले गर्दा नेपालमा पदमा बस्नेहरू नै खोटो छन्, उनीहरूको नियत नै मुलुकको उन्नतिप्रति छैन ।
भारतले सुरुमा ३६४ मेगावाट र हालसम्म आइपुग्दा ४५२.६ मेगावाट बिजुली निर्यातको पटके अनुमति पाएको छ । यस्तो अनुमति एक वर्षका लागि मात्र हो । अर्काे वर्ष पुनः यस्तै अनुमति लिनुपर्छ । नेपालले भारतसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेको होइन, पटके बजार (९६ वटा ब्लक) मा अन्तरिम प्रवेश पाएको हो । त्यसमाथि माथिल्लो तामाकोसी (४५६ मेगावाट) जस्ता आयोजनाको ठेकेदार चिनियाँ कम्पनी भएको अघोषित कारण देखाउँदै बिजुली निर्यात गर्न अनुमति दिएको छैन । उसको ‘सदाशयता’ पर्खेर बस्नुपरेको अवस्था छ । भारतले बिजुली लिइदिएन भन्दै रोइलो गर्नुको साटो यहीं खपत गर्ने नीति लिनुपर्थ्याे । नेपालमा वर्षायाममा बिजुली खेर जाँदैछ भनेर आजभन्दा दस वर्षअघि नै थाहा थियो । तर, कुनै पनि ऊर्जा मन्त्रीमा नेपालमा बिजुली खपत गराउनुपर्छ भन्ने चेत आएन । ऊर्जा मन्त्रीहरूका ध्यान केवल पीपीए, लाइसेन्स, ठेक्कापट्टा कसलाई दिलाउने र कसरी हुन्छ सक्दो कमीसन लुँड्याउनेमा सीमित भयो ।
स्वदेशमै बिजुली खपत गराउन प्रसारण तथा वितरण संरचनाहरू बलियो हुनुपर्छ, यसका लागि लगानी गर्नुपर्छ भन्नेतिर ध्यान गएन । ओलीले नियुक्त गरेका अर्थ मन्त्रीले प्राधिकरणको बजेट कटौती गरिदियो । खतिवडालाई कुलमानको अनुहार देख्यो कि रिस उठ्थ्यो । खतिवडाको पालामा विद्युतीकरण तथा प्रसारण लाइन, सवस्टेशन निर्माणमा गएका बजेट रोकिदिए । देशको अर्थमन्त्रीले देश हेर्ने कि व्यक्तिगत रीसइबीमा उत्रने ? ओलीको सरकार जोगाउन ल्याएका पात्रहरू (ऊर्जा मन्त्री) ले मुलुकको यति गहिरो कुरो बुझ्ने क्षमता राखेन । आफूसँग कुनै विज्ञता छैन भने प्राधिकरणकै विज्ञहरूको सल्लाह मान्न सकिन्थ्यो । तर, नियत सफा थिएन र नै माओवादीबाट ऊर्जा मन्त्री भएका आठजनाले यो क्षेत्र ध्वस्त पार्नतिर लागे, त्यसैको असर अहिले भारतले उसको नीतिमा परिवर्तन गर्दा नेपालको विद्युतमा असर पर्न गएको हो । यहीं मजाले खपत हुन्थ्यो त भारतले नीति परिवर्तन गर्दा टाउको दुखाई हुने थिएन । यी सबै कुरा किन भए भन्दा हाम्रा दलका नेताहरू देश बनाउने होइन आफू, आफ्ना आसेपासे, कार्यकर्ता बनाउने र गोजी भर्नेमा सीमित भएकाले गर्दा हो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया