आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कैलालीमा बढ्न थाल्याे काेभिड संक्रमणको त्रास

कैलाली- दुई छिमेकी मुलुक चीन र भारतमा फैलिरहेको कोभिड-१९ संक्रमणको त्रास कैलालीमा पनि बढेको छ । भारतबाट आउने नेपालीबाट कोरोना भित्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सीमामा कडाइको तयारी थालेको छ ।

आज प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण भित्रिन सक्ने भन्दै सीमामा कडाइ गर्ने निर्णय गरेको हो ।

भारतबाट कोरोना भित्रिन सक्ने भन्दै सीमा नाकामा कडाइ गर्ने, कोरोनाबाट बच्न सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्थानीय तहलाई जानकारी गराउने, सीमामा रहेका हेल्थ डेस्कमा थप जनशक्ति, पूर्वाधार लगायतका व्यवस्थापनका लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने समेत विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । 

त्यस्तै विद्यालय र बढी भीडभाड हुने स्थानमा अनिवार्य मास्क लगाउनु पर्ने समेत निर्णय गरेको छ ।

केही दिनदेखि तराईका जिल्लामा चिसो बढेको भन्दै यसबाट जोगिन र सम्भावित दुर्घटना हुन नदिन सचेत रहन आग्रह गरिएको छ ।

बैठकमा कैलालीका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत विभिन्न गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।