शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

स्राेत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय पक्राउ

जनकपुरधाम। स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित धनुषा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नम्बर १ मन्दिर, विशौल निवासी २३ वर्षीय उमेश कुमार रहेका छन् ।

भारतबाट अवैध रुपमा नेपालतर्फ आइरहेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकललाई धनुषाको बिदेह नगरपालिका ९ इटहर्वास्थित सीमा इलाका सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको २४ लाख १७ हजार रकम बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाको मुख्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलको दुई लाख मूल्याङ्कन गरी बरामद गरिएका रकमसहित ती युवकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मुख्यालयले जानकारी दिएका छन् ।