शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

बेल्जियमलाई पराजित गर्दै मोरक्को नकआउट चरण नजिक

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित हात पारेको छ । अल थुमामा स्टेडियममा आइतबार सम्पन्न समूह 'एफ' अन्तर्गतको खेलमा मोरक्कोले बेल्जियमलाई २-० ले पराजित गरेको हो ।

मोरक्कोलाई महत्वपूर्ण जित दिलाउन अब्देलहमिद साबिरी र जाकारिया अबोखलालले एक-एक गोल गरे । साबिरीले खेलको ७३ औँ मिनेट तथा जाकारियाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोलले मोरक्कोलाई ३ अंक दिलायो ।

यसअघि क्रोयसियासँग गोलरहित बराबरी खेलेको मोरक्को दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

यता पहिलो खेलमा क्यानाडालाई १-० ले पराजित गरेको बेल्जियमले पहिलो पराजय भोगेको छ । पराजयसँगै नकआउट चरण प्रवेश गर्न बेल्जियमलाई अन्तिम खेल कुर्नुपर्ने भएको छ ।