साउदीमा श्रीमान गुमाएकी कृष्णमायाको पीडादायी कथा

हेटौंडा : दोस्रो पटक विदेश उडेका मकवानपुरका मोतिलाल थिङ उतै अस्ताए । साउदीमा चालकको काम गर्दै आएका उनी दुर्घटनामा परेर ज्यान गुमाउन पुगे । दुई वर्ष अघि साउदी पुगेको उनको गएको साउन भएको दुर्घटनामा मृत्यु भएको थियो ।
मृत्युको खबरबाट कृष्णमाया विक्षिप्त भइन् । तर त्यो भन्दा ठूलो बिडम्बना कृष्णमायाले श्रीमानको अस्तु आफ्नै भूमिमा सेलाउन पाइनन् । ‘दुर्घटनामा परेर नब्बे प्रतिशत शरीर जलेको खबर आयो’ कृष्णमायाले भनिन्, ‘अन्य सामानहरु भने काजगपत्र नमिल्दा नेपाल पठाइएन । साउदीमै श्रीमानको अन्तिम संस्कार भयो ।’
काम गर्ने कम्पनी राम्रो नपरेको गुनासो मोतीलाल कृष्णमायासँग गरिरहेका हुन्थे । समयमै तलब नदिने गरेपनि साथीहरुसँग सरसापटी गरेर चार महिनामा एकपटक भएपनि मोतीलाल पैसा पठाउँथे । तर तिनै श्रीमान ज्युँदो नरहेपछि कृष्णमायाले कसरी दिन काटिरहेकी छन् ? त्यो पीडा उनलाई मात्रै थाहा छ ।
कृष्णमायाकी दुई नाबाक छोरी छन् । दुई वर्षको फरकमा जन्मेका उनकी जेठी छोरी चार वर्षकी भइन् । श्रीमान आउने आशै आशमा दिन बिताएकी उनले अन्ततः मृत्युको कागजात मात्रै हात पारिन् । त्यो पनि सात महिनापछि ।
त्यही कागजातले पनि उनलाई थोरै भरोसा दिलाएको थियो । विदेश जाँदा गरिएको बीमा र वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने रकमले केही हुन्छ की भन्ने आश छ । तर त्यो पनि उनको हात परेन ।
सुरक्षित आप्रवासन स्रोत केन्द्र मकवानपुरको प्रयासबाट उनले कागजात पाएपनि आर्थिक सहयोग भने पाइनन् । सुरक्षित आप्रवासन परियोजना सामीले विदेशमा समस्यामा परेका नागरिक, उनीहरुको परिवार, विदेश जान लागेका व्यक्तिहरुलाई आवश्यक परामर्श तथा उनीहरुको समस्याको समाधान गर्दै आएको छ ।
कागजपत्र विदेशबाटै पटकपटक आग्रह गर्दा पनि नपठाएपछि दुतावासमार्फत कम्पनीमा सम्पर्कमा गरेर ढिलै भएपनि प्राप्त गरिएको त्यहाँ कार्यरत पार्वती विश्वकर्मा बताउँछिन । उनी वैदेशिक रोजगारीमा जानेहरुलाई परामर्श दिने काम गर्छिन ।
सुरक्षित आप्रवासन केन्द्र मकवानपुरमा विदेश गएका ८३ जनाको समस्याको निवेदन परेको छ । त्यसमध्ये ४५ जनाको समस्याको समाधान गरिएको सामी परियोजना मकवानपुरका संयोजक अन्जिता थापा मगरले जानकारी दिइन् ।
त्यसमध्ये पनि आर्थिक सहायता प्राप्त गर्ने २० जनालाई संस्थाले सहजीकरण गरेर वैदेशिक रोजगार बोर्ड र बिमाबाट ६१ लाख ७५ हजार दिलाउन सफल भएको छ । जसमध्ये कृष्णमाया पनि एक हुन् । लामो समय प्रयास गर्दा असम्भव ठानेको सहयोग उनले सामीको साथबाट प्राप्त गरिन् । जसकारण वैदेशिक रोजगार बोर्डबाट ७ लाख र बिमाबाट १३ लाख गरी कूल २० लाख रुपैयाँ हात पारिन् ।
यो उनका लागि ठूलो खुशीको सहयोग हो । श्रीमानको मृत्युको खबरले विक्षिप्त उनी बीमा र बोर्डबाट आएको पैँसाले केही गर्ने आँट पलाएको बताउँछिन् । हेटौंडामा सानो किनारा पसल सञ्चालन गर्ने उनी अहिले श्रीमानको मृत्युको खबरले दिएको पीडा बिर्सन खोजिरहेकी छन् ।
तर बेला बेला झस्काइरहन्छ । खाटा परेको घाउ बल्झिरहन्छ । तर पनि अगाडि बढ्ने आँट गर्छिन कृष्णमाया । भन्छिन्, ‘जीवन भनेकै सुख र दुःखको सम्मिश्रण रहेछ । यस्तो हुन्छ भनेर सोचेकी थिइन् । अहिले पनि सपना जस्तो लाग्छ । तर के गर्नु जीवन बाच्नैपर्ने । पसल गरेर दुई छोरी हुर्काउँछु ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया