निर्वाचनमा विदेशी नम्बर प्लेटका गाडी प्रयोगमा रोक

जनकपुरधाम- निर्वाचन आयोग कार्यालय धनुषाले निर्वाचन प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोगमा रोक लगाएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा व्यापक रूपमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग भइरहेको गुनासो आउन थालेपछि आयोगको बसेको बैठकबाट साे निर्णय भएको हाे ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश पोखरेलले विदेशी नम्बर प्लेटका सवारी साधन निर्वाचन प्रचारप्रसारमा रोक लगाएको जानकारी दिएका छन् । ‘निर्वाचनमा विदेशी सवारी प्रयोग गर्न पाइँदैन, त्यसको नियन्त्रणका लागि बिहीबारदेखि नै अनुगमन टोली परिचालन गरिएको छ,' उनले भने, 'प्रयोग भएका विदेशी नम्बरका गाडी सिज गर्नेछौँ । सम्बन्धित उम्मेदवारलाई पहिलो पटकका लागि सचेत गराउनेछौँ ।'
साे बारे बेवास्ता गरी पुनः विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गरिएको पाइएमा निर्वाचन आचारसंहिताबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने निर्णय भएको पनि उनले जानकारी दिए ।
यी निर्णयमा छुट दिँदा निष्पक्ष निर्वाचन नहुने भएकाले कारबाही गर्न प्रत्येक निर्वाचन अधिकृतहरूलाई मुख्य निर्वाचन अधिकृत पोखरेलले निर्देशन समेत दिएका छन् । यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै रूपमा अनुगमन टोली समेत परिचालन गरिएको छ ।
निर्वाचनका लागि धनुषामा ६ हजार कर्मचारी छनोट भइसकेको जानकारी दिँदै उनले निर्वाचनमा खट्ने कर्मचारीलाई तालिम दिएर परिचालन गरिने बताए । निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा र मतदान केन्द्रसम्म पुग्न सडक मर्मत तथा सुधार गर्न स्थानीय तहलाई सहयोग गर्न आग्रह समेत गरे ।
यस्तै, विगतको निर्वाचनमा ४८ घण्टा अगाडि मात्रै मदिरा बिक्री वितरणमा निषेध गर्ने गरिएको थियो । तर, यसपटक सात दिन अघिदेखि नै बिक्री वितरण तथा ओसारपोसार रोक्ने निर्वाचन आयोगले बैठकबाट निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया