आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

अपराजित एपीएफले उचाल्यो च्याम्पियन्स क्रिकेटको उपाधि

काठमाडौँ : ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटको उपाधि एपीएफले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो । जितका लागि पाएको १०७ रनको लक्ष्य एपीएफले १६ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो । 

एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने कप्तान सीता राना मगरले २९ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित १९ रन योगदान गरिन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित रहँदै सर्वाधिक ४४ रन बनाइन् । नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरेको थियो । जसमा एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको एपीएफले उपाधिसँगै तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ पाएको छ ।