आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

प्रचण्ड र माधव नेपाल कम्युनिष्टको नाममा गद्दार हुन् : सचिव महासेठ

जनकपुरधाम- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्टका नाममा गद्दार रहेको नेकपा एमालेका सचिव रघुवीर महासेठले आरोप लगाएका छन् ।

शुक्रबार जनकपुरधाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धनुषाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले देशमा नेकपा एमाले मात्र कम्युनिष्ट पार्टी रहेको भन्दै प्रचण्ड र माधव नेपाललाई गद्दारको संज्ञा दिएका हुन् ।

उनले प्रचण्ड र नेपाललाई चिनी व्यापारीको संज्ञा दिँदै भने, 'उनीहरु राजनीतिक पार्टी साना चिनी व्यापारी हुन्, एमालेको अगाडि तिनीहरुको कुनै हैसियत छैन । तर, अब कम्युनिष्टको नाममा गरिरहेको व्यवसाय बढी दिनसम्म चल्ने छैन, आउँदो निर्वाचनमा जनताले तह लगाएर हैसियत देखाइ दिन्छन् ।'

सचिव महासेठले कांग्रेसको पुच्छर बनेर कम्युनिष्टको खाेल ओढे पनि उनीहरु गत स्थानीय तहकाे निर्वाचनमा एमालेको प्रतिष्पर्धामा आउन नसकेकाे बताए । उनले दाबी गर्दै भने, 'अब आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पनि प्रचण्ड र नेपाल त के पूरै गठबन्धनलाई एमाले मात दिएर एमाले एक नम्बरको पार्टी बन्‍छ ।'

उनले नेपालमा मात्रै चुनावको माध्यमले कम्युनिष्टले दुई तिहाइको सिट जितेर मुलुकमा सरकार बनाउन सफल हुने एमाले पार्टी मात्र रहेको दाबी गर्दै भने, 'आउँदो चुनावमा पनि एमालेले दुई तिहाइले संघ मात्र होइन प्रदेशमा पनि सरकार बनाउँछ ।'