आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बन्दना राणा दोस्रो कार्यकालका लागि सीडाको सदस्यमा निर्वाचित

काठमाडौं : महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी राष्ट्रसंघीय समिति (सीडा) को सदस्यमा नेपालबाट बन्दना राणा पुनः निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि सेडव्को सदस्यमा निर्वाचित भएको राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्यूयोर्कले जनाएको छ । न्यूर्योकमा सोमबार भएको समितिको २१ औँ बैठक अन्तर्गतको निर्वाचनमा  १ सय ३७  मुलुकको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन् । राणा हाल सीडाको उपाध्यक्ष छिन् ।

१९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचीमा उनी तेस्रो स्थानमा रहेको पनि नियोगले जनाएको छ । सन् २०२१-२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवार मध्ये उनी एक हुन् । उनले सरकार, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, न्यूयोर्क र जेनेभास्थित दुई स्थायी नियोग, भारतस्थित नेपाली दूतावासलगायत सबैको अथक मेहनतले यो पद नेपाललाई प्राप्त भएको भन्दै सबैलाई धन्यवाद दिएकी छन् ।

नेपालकी राणासँगै चीन, अस्ट्रेलिया , फ्रान्स, नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, मेक्सिको, लेबनान र फिलिपिन्सका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् । उक्त कमिटिमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन् । उनलाई सरकारमा रहेका मन्त्रीहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिती बलियो भैरहेको धारणा पनि राखिरहेका छन् ।